मायावी : निर्देशक दिवाकरको करिअरलाई 'रामराम'

समाजको विकासक्रमसँगै कथ्यशैली पनि बदलिनु नयाँ हैन। अझ विशेषगरी सृजनात्मक काममा नयाँ शैलीको अनुसरण अनिवार्य समानै देखिन्छ। फिल्ममा त अझ महत्त्वपूर्ण हुन्छ कथा र कथ्यशैली। हिजोको शैली अपनाउँदा नयाँ पुस्ताका दर्शकलाई हलसम्म ल्याउन हम्मे पर्न सक्छ।
तर पुरानो कथ्यशैली झुरै हुन्छ भन्ने हुन्न। त्यसमा रचनात्मक पक्ष समेट्ने हो भने अहिलेको पुस्तासँग पनि सहजै अन्तर्क्रिया गर्न सकिन्छ। उनीहरूलाई आकर्षित गर्न सकिन्छ। 'दिलवाले दुल्हनीया ले जाएंगे' हेरेर आँसु थाम्न नसक्ने अहिलेका पुस्ता पनि भेटिन्छन्। तर कुन कथाको फ्रेममा, कसरी कथा भनिन्छ भन्ने पक्ष भने निकै महत्त्वपूर्ण हुन्छ यस्तोमा।
पारिवारिक फिल्ममा समेत भद्र शैलीको प्रेमिल दृष्य सामान्य बनिसकेको अवस्था ‘हैन म त चुम्बनको दृश्यमा पनि दुई फूलका थुङ्गा जुधाएर सङ्केत मात्र दिने हो’ भन्ने शैली अपनाए कसको के लाग्छ र! यस्तो अवस्थामा भन्ने ‘रामराम’ मात्र हो।बुधबारबाट प्रदर्शनमा आएको ‘मायावी’ को नतिजा पनि उही 'रामराम' खालकै देखियो।
फिल्मले सन् ९० को बलिउड फिल्मको प्रेमकथाको शैलीलाई अपनाएकाले मात्र यो फिल्म 'भिरबाट खसेको' हैन। परम्परागत कथ्यशैली अपनाएकाले मात्रै पनि यसको अवस्था यति कमजोर बनेको हैन। अनि रामराम भन्नुको कारण अनुमानयोग्य त्रिकोणात्मक प्रेम सम्बन्धको कथा मात्र पनि हैन।
रामराम भन्नुको कारण के हो त? अब त्यतैतिर लागौँ। पहिला कथासार।
फिल्म पोखराको लेकसाइडमा केन्द्रित छ, जहाँ मुख्य पात्र जोय (पल शाह) आफ्नो परिवारको रेस्टुरेन्टमा काम गर्छन्। परिवारमा विवाहको चर्चा चलिरहेका बेला, उनी सुन्दर केटीको खोजीमा हुन्छन्। संयोगवश, डाक्टर आर्या (दीपिका प्रसाईँ) को गाडीमा साइकल ठोक्काउँदै निर्देशकले प्रेमकथाको सुरुवात गराएका छन्।
आर्यालाई प्रभावित पार्न कम्मर कसेर लागेकै बेलामा उनी पहिल्यै आदित्य भट्टराईसँग विवाहको तयारीमा रहेको खुल्छ। अर्कोतर्फ, जोयका साथीहरू सुशील (जो अपाङ्ग छन्) र करिश्माबीच प्रेम सम्बन्ध हुन्छ। तर फिल्मको मुख्य सस्पेन्स आर्याले जोयलाई रोज्छिन् कि आदित्यलाई? अनि सुशील र करिश्माको प्रेम सफल हुन्छ कि असफल? यसैमा टिकेको छ। निर्देशकले यसलाई फिल्ममा सस्पेन्सको रूपमा प्रयोग गर्न खोजेका छन्। तर दर्शकका लागि भने त्यो सस्पेन्स रहन्न।
फिल्मले प्रेम केवल भौतिक सुन्दरता वा परिस्थिति हेरेर मात्र हुन्न भन्ने सन्देश दिन खोजेको छ। प्रेममा त्याग पनि हुनुपर्छ भन्ने सन्देशलाई एक कोणबाट प्रेरणादायी पक्ष नै मान्न सकिन्छ। तर यो पनि ट्विस्टको चक्करमा फसेको छ।
फिल्मको अर्को सकारात्मक पक्ष सुन्दर सिनेमाटोग्राफी हो। पोखराको फेवाताल वरपरको लोकेसनले फिल्मलाई आकर्षक बनाएको छ। प्राकृतिक दृश्यहरू राम्रोसँग प्रस्तुत गरिएका छन् फिल्ममा। लक्ष्मी गिरी, राजाराम पौडेल, र अंशु थापाको कमेडीले दर्शकलाई बिचबिचमा हल्का राहत दिएको छ।
फिल्मको सबैभन्दा ठुलो सरप्राइज करिश्मा श्रेष्ठको अभिनय हो। उनको अभिनय गज्जब छ यसमा। दीपिका प्रसाईँको अभिनय सामान्य छ,पल शाह चरित्रमा फिट नै देखिँदैनन्। राजाराम पौडेल, अंशु थापा र लक्ष्मी गिरीको कमेडी प्रभावकारी छ।
त्रिकोणात्मक प्रेम सम्बन्धमा आधारित कथा नयाँ हैन। त्यो भन्दैमा अहिले त्रिकोणात्मक प्रेम नै हुन्न भन्न खोजेको भने हैन, हुन्छ। तर कथा र कथ्य शैलीमा नयाँपन हुनसक्छ।
तर निर्देशक दिवाकर भट्टराईले परम्परागत त्रिकोणात्मक प्रेमकथाको भरमा फिल्म निर्देशन गरेका मात्र छैनन्, कथ्यशैली पनि उही सन् ९० कालिन नै देखियो। अनि अन्तिम नतिजा सहजै अनुमान गर्न सकिने समस्या उनले दोहोर्याए। कथा, कथ्यशैली मात्रै हैन, उनले त्यो बेलाको फिल्म निर्माणमा हुने कमजोरी पनि सँगै भित्र्याए 'मायावी'मा।
प्रेम मनको कुरा हो। त्यसैले प्रेमकथाको महत्त्वपूर्ण पक्ष भनेको पात्रहरूको भावना हो। कति दृश्यबाट त कति संवादबाट निर्देशकले फिल्मका पात्रहरूको प्रेम सम्बन्धमा भोग्ने आरोह-अवरोहलाई दर्शकको मन चसक्क हुने गरी प्रस्तुत गर्छन्। दर्शकको मन हुँडल्छन्। तप्प तप्प आँसु चुहाउन बाध्य बनाउँछन्।
तर 'मायावी'का प्रेमिल संवाद अनि दृश्यहरू प्रभावहीन छन्। पात्रबीचको भावनात्मक सम्बन्धलाई निर्देशकले दर्शकको मनसम्म पुग्ने गरी गहिराइमा लैजानै सकेका छैनन्। पात्रको आरोह-अवरोहसँगै जब दर्शकको मनले यात्रा गर्न सक्दैन तब यस्ता प्रेमकथा फ्लप हुन्छन्। यस्तै देखियो मायावी पनि।
कथामा मिसाउन जाने प्रेमकथाको फिल्मको सुन्दर र बलियो पक्ष गीतहरू बनिदिन्छन्, नजाने फिल्मको सबैभन्दा कमजोर पक्ष नै यही बनिदिन्छन्। 'मायावी'मा निर्देशकले ८ वटा गीत अटाएका छन्। त्यसले फिल्मको कथालाई बलियो हैन निकै कमजोर बनाएको छ। फिल्म हेरेको हो कि गीतीकथा जस्तो बनाइदिन्छ फिल्मले। ‘हातैको रै गो चाँदीको एक्का’ बोलको गीत बाहेक अन्य दर्शकले याद पनि गर्दैनन्।
निर्देशकले फिल्ममा अनावश्यक दृश्यको चाङ लगाएका छन्। खिचेका जति सबै दृश्य अटाउन खोजझैँ देखिन्छ फिल्म हेर्दा। चुस्त सम्पादन हुनसक्ने ठाउँ पर्याप्त छ फिल्ममा। फिल्मको पहिलो भागको कथा सुस्तरी अगाडि बढ्छ। जहाँ निर्देशकले दर्शकको धैर्यताको परीक्षा नै लिए समान अनुभव हुन्छ।
अनुमान गर्न सहज हुने परम्परागत फ्रेमको प्रेमकथा, कमजोर पटकथा अनि अधिक गीतको प्रयोगले फिल्म मायावी प्रभावहीन देखिन्छ। कलाकार छनोट र पटकथामा समस्या देखिन्छ। निर्देशकले पटकथामा अलि ध्यान दिएका भए यो तहको फिल्म नबन्न सक्थ्यो। तर उनले प्रशस्त हेलचेक्राई गरे।
निर्देशक दिवाकरले यस अगाडि ‘मेरो जीवन साथी’ ‘स्टुपिड मन’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’जस्ता फिल्म निर्देशन गरिसकेका छन्। उनीबाट यो तहको कमजोर फिल्म अपेक्षा हुने प्रश्नै रहेन। उनले अर्को फिल्म नरसिंहा’ घोषणा गरिसकेका छन्। यसमा पनि यस्तै कमजोरीको चाङ लाग्ने हो भने उनको निर्देशन यात्रा नै सङ्कटमा पर्न सक्छ।
अन्त्यमा, कसैलाई 'मलाई त जस्तो भए नि रिसै उठ्दैन' भन्ने आत्मविश्वास छ भने यसको परीक्षण गर्ने उत्तम स्थान 'मायावी'को शो हुनसक्छ। हलमा फिल्म हेरिरहँदा रिस उठेन भने पास।
फागुन १६, २०८१ शुक्रबार २०:२९:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।