उत्तराखण्डको बद्रीनाथमा हिमपहिरोमा फसेका ५७ मध्ये १० व्यक्तिको उद्धार

उत्तराखण्डको बद्रीनाथमा हिमपहिरोमा फसेका ५७ मध्ये १० व्यक्तिको उद्धार

एजेन्सी : भारतको उत्तराखण्डको चमोली जिल्लामा शुक्रवार ठुलो हिमपहिरो गएको छ। हिमपहिरोका कारण सडक निर्माणमा संलग्न कम्तीमा ४७ जना कामदार हिउँको ठुलो थुप्रोमुनि फसेका छन्। हिमपहिरोमा फसेका कम्तीमा १० जनालाई उद्धार गरिएको छ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीका अनुसार सीमा सडक सङ्गठन (बीआरओ) शिविरका निर्माण मजदुरहरू बद्रीनाथको माना गाउँ नजिकै काम गरिरहेका समय एक्कासि हिमपहिरो आउँदा केही व्यक्ति हिउँभित्र फसेका छन्। उद्धारका लागि सुरक्षाकर्मी त्यसतर्फ गइसकेका छन्।    

प्रहरी मुख्यालयका प्रवक्ता आईजी निलेश आनन्द भर्नेका अनुसार ५७ जना कामदारमध्ये १० जना कामदारको उद्धार गरिएको छ।

यसैबीच, बीआरओका कार्यकारी इन्जिनियर सीआर मिनाले उद्धार कार्य जारी रहेको र भारी हिमपातका कारण टोलीलाई कठिनाइ भइरहेको बताए। चार वटा एम्बुलेन्स  पठाइएको  तर बाक्लो हिमपातका कारण उद्धार टोलीलाई पुग्न समस्या भइरहेको बताए।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले भारत–तिब्बत सीमा प्रहरी र बीआरओले राहत र उद्धार कार्य जारी राखेको बताए। 

फागुन १६, २०८१ शुक्रबार १८:१६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।