शिवरात्रिमा आउने साधुलाई उपहारमा बाघचर र मृगचर दिने प्रथा बन्द, नौ हजारसम्म दक्षिणा दिएर बिदाइ

शिवरात्रिमा आउने साधुलाई उपहारमा बाघचर र मृगचर दिने प्रथा बन्द, नौ हजारसम्म दक्षिणा दिएर बिदाइ

काठमाडौँ : महाशिवरात्रिका लागि पशुपतिनाथमा मेला भर्न आएका साधु सन्तहरू बाटो खर्च लिएर बिदा भए। पशुपति क्षेत्रमा आएका नागा, अघोरी, नाथ, दशनामी लगायतका सम्प्रदायका साधु सन्तहरूलाई हरेक वर्ष बाटो खर्च दिने गरिन्छ।

पर्वमा सहभागी सन्तहरूको सम्मानमा केहीलाई बाघचर (बाघको छाला) अनि मृगचर (मृगको छाला) समेत उपहारका रूपमा दिने गरिएकोमा गणतन्त्र आएसँगै सो प्रथा भने हट्यो।

वन्यजन्तुको अखटोपहार उपहारमा दिनु गैर कानुनी भएकाले सरकारले त्यसलाई रोके पनि दक्षिणा स्वरूप बाटो खर्च दिने परम्परा भने कायमै छ।

प्रतिष्ठित सन्तहरूलाई अहिले पनि उपहारमा घण्ट, चमर, कमण्डलु, राडीपाखी, पीताम्बर, जटायुक्त नरिवल, त्रिशूल, शङ्ख, डमरु लगायत भने दिने गरिन्छ।

शिवरात्रि पर्वको समापनसँगै शुक्रवार सन्त र साधुहरूको वर्गीकरणको आधारमा पशुपति क्षेत्र विकास कोषले नौ हजार रुपैयाँदेखि दुई सय रुपैयाँदेखि दक्षिणा दिएर पशुपति क्षेत्रबाट साधु सन्तहरूलाई बिदा दिएको थियो।

फागुन १६, २०८१ शुक्रबार १६:३८:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।