गत निर्वाचनमा शून्य सिट पाएको मधेसमा पुगेर प्रचण्डले भने ‘सक्कली मधेसवादी दल माओवादी केन्द्र मात्रै’

सप्तरी : मधेसमा खस्किएको पार्टीको प्रभाव बढाउन तराई मधेस जागरण अभियानमा हिँडेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो दलमार्फत सक्कली मधेसवादी दल भएको दाबी गरे। गत निर्वाचनमा प्रतिनिधि सभामा एक सिट पनि जित्न नसकेको क्षेत्रमा पार्टीको संगठन बढाउन माओवादी केन्द्रका नेताहरू पुगेका हुन्।
सशस्त्र द्वन्द्वको समयदेखि लोकतान्त्रिक अभ्यासमा आएसम्म मधेसमा माओवादीको प्रभाव निकै कमजोर देखिन्छ। सङ्घीयताको माग गर्दै सुरु भएको आन्दोलनसँगै जन्मिएका मधेसवादी दलको प्रभावले माओवादीसँगै अन्य प्रभावशाली दलहरू समेत खुम्चिन बाध्य भए।
मधेसी जनअधिकार फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी हुँदै मधेसमा आधा दर्जन बढी दलहरू उदाए। केहीले प्रभाव पनि बढाएका थिए। अहिले भिन्न भिन्न गुटमा विभाजित भएकाहरू भिन्न भिन्न दलमा आबद्ध छन्। ती दलको अवस्था पनि कमजोर छ।
नेपाली कांग्रेस अनि एमालेले मधेसमा आफ्नो प्रभावमा केही सुधार गरे। माओवादीका लागि त गौर हत्याकाण्ड पार्टीको प्रभाव विस्तारमा सबैभन्दा ठुलो अवरोधक बन्यो।
सत्ताधारीबाट प्रमुख प्रतिपक्षी दल बनेपछि २०८४ मा एक्लै निर्वाचनमा सहभागी हुने लक्ष्यसहित माओवादी अहिले पार्टीको प्रभाव र संगठन विस्तारमा केन्द्रित भएको छ।
त्यही अभियानअन्तर्गत सप्तरीको राजविराजमामा आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरूसँगको अन्तर्क्रिया उनले मधेस केन्द्रित राजनीतिबाट उदाएका दलहरूलाई नक्कली मधेसवादी दलको आरोप लगाए।
उनले कुनै दलको नाम त लिएनन् तर उनको सङ्केत जनता समाजवादी पार्टी लगायतका दलहरू केन्द्रित देखियो। उनले मधेसका मतदाता मधेसवादको नारामा स्थापित नक्कली मधेसवादी दलको भुलभुलैयामा परेको दाबी समेत गरे।
उनले कार्यक्रममा मधेसवादको नारा लिएर जन्मिएका दलहरूबाट मधेसी जनताको मुक्ति नहुने प्रमाणित भइसकेको दाबी गर्दै अब वास्तविक मधेसवादी दल माओवादीसित जोडिनुपर्ने तर्क समेत गरे।
आफूलाई मधेसवादी भन्ने दलहरूको दिशा जनतातिर नभई प्रतिक्रियावादी दिशा उन्मुख रहेको भन्दै उनले त्यस्ता नक्कली मधेसवादी दलसँग सावधान रहन समेत आग्रह गरे।
सङ्घीयता, समावेशिताको बढी आवश्यकता मधेसी समुदायलाई भएको र यसको नेतृत्वकर्ता शक्ति माओवादी भएको उनको दाबी थियो।
अन्य प्रदेशमा पहिचानको सवाल कम सम्बोधन भए पनि मधेस प्रदेशको नामकरण पहिचानबाट भएकोमा गर्व महसुस भएको भन्दै उनले माओवादी र मधेसी जनता एक ठाउँमा केन्द्रित नभएमा प्राप्त उपलब्धि पनि खोसिने दाबी गरे।
मधेसमा के छ माओवादीको अवस्था ?
मधेस प्रदेशका आठ जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाका लागि २०७९ मा भएको निर्वाचनलाई आधार मान्ने हो भने माओवादी केन्द्र निकै कमजोर देखिन्छ।
माओवादीबाट उम्मेदवार बनेकामध्ये जम्मा एक जना माओवादीको चुनाव चिन्ह लिएर उठेका उम्मेदवार निर्वाचित भए। सर्लाही २ मा महिन्द्र राय यादव पनि माओवादीको निर्वाचन चिन्हबाट निर्वाचित भएका थिए तर उनी बाबुराम भट्टराई नेतृत्वको दलको नेता थिए।
प्रदेश सभाको अवस्था हेर्ने हो भने महोत्तरी, सर्लाही, रौतहट, पर्साको एक- एक क्षेत्र गरेर प्रत्यक्षतर्फ जम्मा जना माओवादीका उम्मेदवारहरूले प्रदेश सभामा जितेका थिए।
फागुन १६, २०८१ शुक्रबार १५:५३:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।