शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै

काठमाडौं : प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ।
नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औं ग्याल्पो ल्होसार मनाउन लागेका हुन्। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ।
ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ। ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरू गरिएको हो।
समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता टीका शेर्पाले सुनाए। यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गरेको उनले जानकारी दिए।
विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ। शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो।
ग्याल्पो ल्होसारका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधानमन्त्री, मुख्यमन्त्री तथा विभिन्न दलका शीर्ष नेताहरूले शुभकामना व्यक्त गरेका छन्।
पुस १५ मा गुरूङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन्।
फागुन १६, २०८१ शुक्रबार ११:१२:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।