एमाले सबैभन्दा धनी दल देखिँदा रास्वपाको आर्थिक अवस्था चौपट, एमालेको कमाई लेबी, कांग्रेसको चन्दा

एमाले सबैभन्दा धनी दल देखिँदा रास्वपाको आर्थिक अवस्था चौपट, एमालेको कमाई लेबी, कांग्रेसको चन्दा

काठमाडौँ : आर्थिक वर्ष २०८०/०८१ को लेखा परीक्षण प्रतिवेदन अनुसार प्रमुख राजनीतिक दलहरूमध्ये एमाले सबैभन्दा धनी दल देखिएको छ। निर्वाचन आयोगमा बुझाइएको दलहरूको लेखा परीक्षण प्रतिवेदनअनुसार एमाले आम्दानी र बचतको हिसाबमा सबैभन्दा धनी दल देखिएको हो।

प्रतिवेदन अनुसार नेपाली कांग्रेस, माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी लगायतका दलहरू घाटामा छन्। एमालेको आम्दानीको मुख्य स्रोत सदस्यता शुल्क हो भने कांग्रेसले मुख्य रूपमा चन्दाबाट आम्दानी गरेको छ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार, सबै राजनीतिक दलहरूले आफ्नो आय-व्ययको लेखा परीक्षण गरी निर्वाचन आयोगमा प्रतिवेदन पेस गर्नुपर्छ।

सोही कानुनी व्यवस्था अनुसार  ८८ दलहरूले मात्र आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन आयोगमा बुझाएका छन्। आयोगमा १ सय १५ दल दर्ता भएका थिए।

एमालेको ठूलो आम्दानी लेबीबाट

एमालेले गत आर्थिक वर्ष (२०८०/८१) मा १४ करोड ७९ लाख ५ हजार ८ सय ९ रुपैयाँ आम्दानी गरेको थियो। त्यसमध्ये उसले  ७ करोड ८५ लाख ३८ हजार ३ रुपैयाँ खर्च गरेको देखिन्छ। यस हिसाबले एमालेसँग ६ करोड ९३ लाख ६७ हजार ८ सय ट रुपैयाँ बचत रहेको छ। 

लेखा परीक्षण प्रतिवेदन अनुसार एमालेको मुख्य आम्दानीको स्रोत पार्टी सदस्यता शुल्क (लेबी_ देखिन्छ। एमालेले यो शीर्षकमा आर्थिक वर्ष २०८०/८१ मा कार्यकर्ताहरूबाट ११ करोड ५४ लाख ३० हजार ४ सय ३७ रुपैयाँ सङ्कलन गरेको देखिन्छ। उसले सदस्य, जनप्रतिनिधी, कमिटीमा रहेकाहरु र अन्यबाट समेत लेबी उठाउने गरेको देखिन्छ। उसले सबैभन्दा धेरै जनप्रतिनिधीहरुबाट एक करोड बढी लेबी उठाएको देखिन्छ।

लेखा परिक्षण प्रतिवेदनमा उल्लेख भए अनुसार एमालेले २०८०/८१ मा एक पैसा पनि चन्दा पाएन। तर अन्य विशेष सहयोग शिर्षकमा ६२ लाख पाएको उल्लेख छ।

कांग्रेसको स्रोत चन्दा, २ करोड बढी घाटा

अर्को ठुलो दल नेपाली कांग्रेस भने घाटामा देखियो। कांग्रेसले आर्थिक वर्ष २०८०/८१ मा २ करोड ५९ लाख ८ हजार ७ सय ७५ रुपैयाँ आम्दानी गरेको थियो। त्यसमा ४ करोड ९१ लाख ५६ हजार ३ सय ७५ रुपैयाँ खर्च भयो। यो हिसाबले कांग्रेस २ करोड ३२ लाख ४७ हजार ६ सय रुपैयाँ घाटामा देखियो।

कांग्रेसको आम्दानीको प्रमुख स्रोत भने चन्दा हो। उसले चन्दाबाट १ करोड ७३ लाख ९४ हजार ४ सय ३९ रुपैयाँ सङ्कलन गरेको देखिन्छ। यसको शिर्षक चन्दा तथा प्रवेश शुल्क उल्लेख छ। सदस्यता, लेवी र नवीकरण शुल्कबाट जम्मा  ७१ लाख रुपैयाँ आम्दानी भएको देखिन्छ। उसको सबैभन्दा धेरै खर्च कार्यालय सञ्चालनमा देखियो। यसमा मात्र उसले ४ करोड ५४ लाख खर्च गरेको देखियो।

माओवादी केन्द्रको घाटा न्यून

संसद्को तेस्रो ठुलो दल माओवादी केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा १ करोड ८६ लाख ५३ हजार १४६ रुपैयाँ आम्दानी गरेको देखिन्छ। उसको खर्च आम्दानीभन्दा २ हजार ४ सय ४४ रुपैयाँ बढी छ।

उसको आम्दानीको मुख्य स्रोत पनि पार्टीको सदस्यता नै देखिन्छ। उसको लेखा परीक्षण प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा उसलाई कसैले चन्दा दिएनन्।

नयाँ दल रास्वपाको आम्दानीभन्दा खर्च दोब्बर

नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आर्थिक अवस्था डामाडोल देखियो। उसको आम्दानीभन्दा झन्डै दोब्बर खर्च देखियो। रास्वपाले आर्थिक वर्ष २०८०/८१ मा ३ करोड ७९ लाख ५९ हजार ४ सय ८७ रुपैयाँ आम्दानी गरेको देखिन्छ। तर ६ करोड ५० लाख १७ हजार ७८ रुपैयाँ खर्च भएको देखिन्छ। यस हिसाबले रास्वपा २ करोड ७० लाख ५७ हजार ५ सय ९१ रुपैयाँ घाटामा देखियो।

रास्वपाको आम्दानीको स्रोत पनि सदस्यता लेबी, नविकरण र चन्दा देखियो। उसले सदस्यता लेबी र नविकरणबाट २ करोड ६१ लाख संकलन गरेको देखियो। उसले एक करोड १५ लाख चन्दा लिएको उल्लेख छ। ४५ लाख ऋण रहेको उल्लेख छ।

एकीकृत समाजवादी र जनमत पनि घाटामा

अर्को दल एकीकृत समाजवादी ले आर्थिक वर्ष २०८०/८१ मा ४ करोड २४ लाख ५३ हजार ६ सय ९१ रुपैयाँ आम्दानी गरेको देखिन्छ। तर उसको खर्च ४ करोड ५७ लाख ४० हजार ८ सय ५४ रुपैयाँ रहेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ। एकीकृत समाजवादी ३२ लाख ८७ हजार १ सय ६३ रुपैयाँ घाटामा देखियो।

अर्को नयाँ दल जनमत पार्टी पनि घाटामै देखियो। जनमत पार्टीले आर्थिक वर्ष २०८०/८१ मा १ करोड १८ लाख ८१ हजार ९ सय ४३ रुपैयाँ आम्दानी गरेको थियो। उसको खर्च १ करोड १९ लाख ११ हजार ३ सय ३३ रुपैयाँ देखिन्छ। यस हिसाबले जनमत पार्टी २९ हजार ३ सय ९० रुपैयाँ घाटामा देखियो।

फागुन १५, २०८१ बिहीबार २३:३०:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।