कलाकार पवनको हिजोका कुरा : खलनायकको अभिनय गर्दा राक्षस भनेर गाली खाए, नेवारी टोनले सिरियलै रोकियो

कलाकार पवनको हिजोका कुरा : खलनायकको अभिनय गर्दा राक्षस भनेर गाली खाए, नेवारी टोनले सिरियलै रोकियो

पवन जोशी उमेरले ६८ वर्षका भए। कालीमाटीको वान सिनेमाज् हलको ठिक अगाडि एउटा फोटो स्टुडियो खोलेका छन् उनले। उनको परिचय स्टुडियो सञ्चालक मात्र होइन। नाटककार, दर्जनौँ नेपाली भाषामा बनेका फिल्मका कलाकार,लेखक,निर्देशकका साथै गीतकार पनि हुन् उनी।

जोशीले दर्जनौँ नेपाली फिल्ममा खलनायकको भूमिका निर्वाह गरिसकेका छन्। शिव श्रेष्ठसँग फिल्म ‘देशद्रोही’,राजेश हमालसँग ‘बहादुर’ र ‘परदेशी कान्छा’,धिरेन शाक्यसँग ‘कैदी’लगायत दर्जनौँ फिल्ममा खलनायक बनेर अभिनय गरे उनले। मोहन निरौलाको ‘नाम के हो? मा भने सकारात्मक भूमिका पाएका थिए उनले।

उनले आफूले भोगेका अनुभवहरू उकेरासँग यसरी साटे।

स्कुल नहुँदा बिहार पाटीमा पढिन्थ्यो

मेरो जन्म कीर्तिपुरमा भयो। त्यो बेलामा चिठु गाउँ पञ्चायत  वडा नम्बर ५ को जोशीनानी भनिन्थ्यो टोललाई। मैले सुने अनुसार पहिला कीर्तिपुरमा जोशीहरूको बस्ती रैनछ।  त्यो समयमा चिना हेराउन मेरा हजुरबुवा मरुबाट त्यहाँ जानु भएको रैछ। मेरो हजुरबुबा बसेपछि त्यो ठाउँको नाम नै जोशीनानी रह्यो रे।

मेरो परिवार निकै ठुलो। १० दाजुभाइ तथा दिदीबहिनीमा म कान्छो। मेरो बाल्यकाल कीर्तिपुरमै बित्यो। त्यहीँको मङ्गल उच्च माध्यमिक विद्यालयमा पढेँ। त्यहीँबाट २०३० सालमा एसएलसी पास गरेँ। त्यतिबेला ५ कक्षा पढे पनि स्कुलमा जागिर पाइन्थ्यो। एसएलसी दिएपछि त्यहीँ पढाउने काम पाएँ। २०३२ बाट २०४२ सम्म त्यहीँ पढाएँ।

त्यो बेलाको स्कुलको माहौल र अहिलेको माहौल हेर्दा त कति फरक हो कति। त्यो बेलामा पाटीमा पढाउनुपर्थ्यो। अहिलेको जस्तो भौतिक संरचना कहाँ हुनु। अहिले पनि त्यो ठाउँमा बिहारको पाटी छ। मैले पढ्ला पनि बिहारको चार वटा पाटीमा पढेको हो। त्यही पाटीमा पढाएको।

२०३६ मा आन्दोलन भयो। त्यतिबेला पञ्चायत शासकले कीर्तिपुरका सुकुम्वासीलाई जग्गा दिने चर्चा भयो। दिए पनि। अहिलेको कीर्तिपुरको नयाँ बजार भन्ने ठाउँ छ नि, त्यो सुकुम्वासीलाई जग्गा दिएको ठाउँ हो।

त्यहीँ समयमा शिक्षक आन्दोलन पनि भएको थियो। आन्दोलनमा हामीले स्कुललाई जग्गा चाहियो भनेर माग गर्यौँ। पञ्चायत सरकारले माग सुन्यो र स्कुलका लागि ४२ रोपनी जग्गा दियो। सुकुम्वासीले जग्गा पाए, स्कुलले पनि जग्गा पायो। मैले पढाएको स्कुल अहिले उच्च माध्यमिक विद्यालय भइसक्यो।

त्यो समयमा शिक्षक बन्न गाह्रो थिएन। स्कुल पढाउन थालेको एक वर्षमै स्थायी शिक्षक भएको थिएँ। जिल्ला शिक्षा सेवा आयोगमा पाँच कक्षा पढेकाले पनि शिक्षकको जाँच लिन पाइने। सुरुको  समयमा करारमा काम गरेँ। २०३२ मा स्थायी भइहालेँ।

त्यो बेलामा तलब त आउँथ्यो तर पेन्सन थिएन। २०४६ पछि न हो शिक्षकले पनि पेन्सन पाउन थालेको। मैले जागिर सुरु गर्दा त ८२ रुपैयाँ ३० पैसा तलब थियो। निस्किँदा ७ सय ३५ रुपैयाँ पुगेको थियो। तर खर्च चल्थ्यो है मजाले।

पेन्सन नहुने भएपछि लामो समय काम गर्न मन लागेन। स्थायी भएको १० वर्षपछि २०४२ मा पढाउन मन लागेन र बाहिरिएँ।

डबलीबाट अभिनय यात्रा

त्यो बेलामा मनोरञ्जनको माध्यम नाटक नै थियो। कीर्तिपुरको चोकहरूमा नाटकहरू हुन्थेँ। साँझमा हुने नाटकहरूमा प्राय हेर्नेको भिड लाग्थ्यो। म पनि नाटक भनेपछि चाख दिएर हेर्थे। अन्त पनि हेर्न जान्थेँ।

२०२७ तिर कीर्तिपुरको डबलीमा मञ्चन भएको नाटक ‘हकदार’मा अभिनय गर्ने मौका पनि पाएँ। त्यतिबेला म १४ वर्षको थिएँ। निर्देशकले कलाकार छान्थे। म पहिलो पटक खलनायकमा छानिएँ।

हिरोइनको बलात्कारको दृश्य थियो नाटकमा। पहिलो पटक अभिनय गरेकाले होला निकै अप्ठ्यारो भएको थियो त्यो दृश्य गर्न। म सानो थिए, हिरोइन बनेका केटाहरू ठूला। तर नाटक सबैले मन पराए। तर अभिनय नै भए पनि खलनायकलाई भने समाजले त्यति नरुचाउने।

भोज खान जाँदा पनि यो त खराब मान्छे भन्थे। त्यस्तै व्यवहार गर्थे। अब नाटकमा अभिनय गरेको हो भनेर सम्झाउने कुरा नि भएन। भोजमा जाँदा अन्य कलाकारको मान हुन्थ्यो। मलाई भने खलनायकको अभिनय गरेकाले राम्रो व्यवहार गर्दैनथे। भोजमा खाना बाँड्ने केटीहरूले ‘ए , राक्षस जस्तो मान्छेलाई पनि के खुवाउनु’ भन्थे।

केहीले त पिटेर पठाउनुपर्ने भनेको पनि सुनेँ। मनमा नरमाइलो लाग्यो। अभिनय पो त्यस्तो हो त। तर अभिनयमा मेरो चरित्रै मिसाइदिए। अनि त अब यस्तो रोल गर्दिन भन्ने लाग्यो।

तर साथी अनि निर्देशकहरुले यो त तिम्रो सफलता हो भनेर सम्झाए। तर २०२९ सालमा ‘चरित्र’ भन्ने नाटक गर्दा हिरोको भूमिकामा अभिनय गरेँ।

महिलालाई नाटक खेल्न प्रतिबन्ध

त्यो समयमा महिला पात्रको अभिनय पनि पुरुषले नै गर्ने हो। महिलाले नाटकमा अभिनय गर्ने त सोच्न पनि सक्ने अवस्था थिएन। प्रतिबन्धै थियो भने पनि हुन्छ।

नाटकमा केटीको भूमिका पनि केटाले नै गर्नुपर्थ्यो। २०४२ सालमा आएर ‘गङ्गालालको चिता’मा भन्ने नाटकमा पहिलो पटक महिला कलाकारले अभिनय राखियो। मेरो आफ्नै लेखन तथा निर्देशनमा बनेको थियो त्यो नाटक।

त्यो बेलामा नाटक गर्दा न माइक हुन्थ्यो, न अन्य साधनहरू। ठुलो दर्शक टाढा बसेका छन् भने उनीहरूले सुनुन् भनेर ठुलो स्वरमा संवाद भन्नुपर्थ्यो।

कीर्तिपुरमा २०१३ सालतिर बिजुली बत्ती पुगेको थियो। त्यसैले टुकी,लालटिन बाल्नुपर्ने झन्झट भने थिएन। साँझ नाटक गर्दा उज्यालो नै हुन्थ्यो।

गीतकारले स्क्रिप्ट नै फालिदिए

२०६३ सालतिर हुनुपर्छ, एउटा फिल्म लेखेँ। अब कसलाई सुनाउने त! श्रीमतीलाई सुनाएँ। उनले राम्रो छ भनेर गीत चैँ चलेको गीतकारलाई लेखाउनुपर्छ भनिन्।

त्यही अनुसार नेपाल भाषाको थुप्रै गीत लेखेका गीतकारलाई गीत लेखाउन सहयोगीलाई स्क्रिप्ट दिएर पठाएको थिएँ। स्क्रिप्ट पठाएको ३ महिनासम्म गीत आएन। सोध्दा त सहयोगीले ‘कथा पनि यस्तो हुन्छ’ भनेर फालिदिएछन्।

अनि अर्को गीतकारलाई दिएँ। उनले पनि गीत लेख्न मन गरेनन्। अनि कथा अनुसार गीत लेख्न आफैँ कस्सिएँ। नेपाली र नेपाल भाषामा ३-३ वटा गीत तयार भयो।

३ वटा मैले लेखेँ, ३ वटा अरूलाई नै लेख्न लगाएँ। पछि राम्रो पनि भयो। मैले मेलिना मानन्धर लगायतका कलाकार राखेर नेपाल भाषामा ‘बालामेजु’ र नेपाली भाषामा ‘सुन्दरी’ नाम राखेर फिल्म बन्यो। फिल्मले चलचित्र विकास बोर्डबाट वितरण हुने अवार्डबाट तीन वटा बेष्ट डिरेक्टर, बेष्ट हिरोइनको अवार्ड पायो।

नेवारी टोनले निम्त्याएको समस्या

२०३८ सालमा ‘सङ्घर्ष भन्ने फिल्म खेलेको थिएँ। यो फिल्मका लागि अडिसन दिएको थिएँ। भोटेबहालमा फिल्मको लागि अडिसन चलिरहेको थियो।

अडिसनमा डाइलक बोले। तर मेरो बोलीमा नेवारी टोन आउने भइहाल्यो। अडिसन लिनेले नेवारी टोन आयो, भएन भने। अब नेवारले नेपाली बोल्दा नेवारी टोन त आइहाल्छ नि। अडिसन पास हुन्न कि क्या हो भन्ने डर लागेको थियो। तर भयो।

नेवारी टोनकै कारण नेपाल टेलिभिजनबाट मेरो टेलिफिल्म ‘परम्परा’ प्रसारणै भएन। यो टेलिफिल्ममा २ जना कसाई समुदायको सदस्यको रोल थियो। उनीहरूको संवादको शैली नेवारी टोनमै बनाएको थिएँ। तर टेलिभिजनले नेवारी टोन आयो भनेर प्रसारणै गरिदिएनन्।

टेलिफिल्ममा नेवारी टोन आएको होइन, पात्र अनुसार बनाएको हो भनेर भनेँ। त्यतिबेला नेपाल टेलिभिजनको शाखा प्रमुख विश्वप्रकाश मास्के हुनुहुन्थ्यो। उहाँले ‘ल हुन्छ,म पठाइदिन्छु भन्नुभयो। तर प्रसारणै भएन।

फागुन १५, २०८१ बिहीबार २१:३२:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।