आठ आना जग्गा बेचेर बागमतीको अध्ययन गरेकी 'करैयावाली' शान्ति चौधरी

काठमाडौँ : नक्साल चारढुंगेमा हुर्केकी शान्ति चौधरी २०६५ मा भारतको गङ्गा नदीमा पुगिन्। उनी त्यति बेलाको गङ्गा नदी देखेर छक्कै परिन्। दक्षिण एसियाकै हिन्दुहरूको घुइँचो लाग्ने गङ्गा निकै सफा थियो, पानी कञ्चन थियो।
त्यति नै बेला उनले झट्ट सानोमा बागमतीको तिरको बालुवामा खेलेको सम्झिइन्। उनी गङ्गाको तिरमा बसिन्। टुकुचा खोलामा माछा समाएको याद आयो।
गङ्गाको कञ्चन पानी हेर्दाहेर्दै उनको मनमा प्रश्न उठ्यो ‘हाम्रो बागमती नदी किन त्यति दुर्गन्धित भयो?, भारतमा गङ्गा झैँ नेपालमा पनि बागमतीको महत्त्व छ। तर किन यति फोहोर?’
अनि उनले उतै बागमतीको मुहान बाग्द्वारदेखि मकवानपुरको सिमानासम्म पछ्याउने सङ्कल्प गरेर नेपाल फर्किइन्।
टुकुचामा माछा समाउँदै बिताएको बाल्यकाल
राणाकालको कुरा, सानोमा उनले सुने अनुसार उनका बुबा बाराबाट भिमफेदीको बाटो हुँदै पढ्न काठमाडौँ आए। त्रिचन्द्र कलेजमा आइएसम्म पढे। अनि नायब सुब्बाको सरकारी जागिर खाए।
त्यतिबेला राणा शासन हटाउने आन्दोलनको ज्वाला दन्केको थियो। त्यो ज्वालाले उनको बुबालाई पनि हल्का छोयो। तर सरकारी जागिरे भएकाले खुलेर लाग्न सकेनन्। तर राणाहरूले सुइँको पाइहाले। उनी जागिर निकालामा परे। अलिअलि सुध्रन लागेको आर्थिक स्थिति बिग्रियो। अनि रत्न पुस्तक भण्डारमा काम गरे।
२०११ सालमा नक्सालको चारढुंगेमा जन्मिइन शान्ति। उनकी आमा राधिका धेरै जसो गाउँमा नै बस्थिन्। बुबा काठमाडौँमा। लैनचौरको कन्या हाई स्कुलबाट उनको शिक्षा सुरु भयो। कन्या हाई स्कुल भएकाले छात्रा मात्रै हुने नै भए।
‘हामी स्कुल छुट्टी भएको बेलामा टुकुचा खोला किनारमा खेल्थ्यौँ। त्यहाँ भुरा माछा समाउँथ्यौँ। एक किसिमले भन्दा टुकुचा खोलामा सानै देखि पो खेलियो’ उनी स्मृतिमा फर्किइन्।
त्यतिबेला छिट्टै विवाह हुने प्रचलन थियो। उनको उमेर १८ वर्ष पुग्दा नपुग्दै विवाह भइहाल्यो बाराकै चौधरीसँग। विवाह भएपछि उनी काठमाडौँमा बस्न पाइनन्। उनले एसएलसी पनि पछि ३२ सालमा दिइन्।
प्राइभेटबाट एसएलसी दिएकी उनी पास त भइन् तर त्यसभन्दा माथि पढ्न पाइनन्। जागिर खान कसैले भनेनन्। घरमा निकै आर्थिक दुख भएकाले घर अनि साहुको काम गर्न थालिन्।
थारुहरू आर्थिक रूपमा कमजोर। महिलामाथि सेँठहरुको यौन दुर्व्यवहार गर्थे। एक महिला एक सेँठले जबरजस्ती करणीमा परेर गर्भवती भइन्। तर सजाय सेठले पाउनुपर्नेमा ती महिला पो छिछि र दुरदुरमा परे। उनी समालिन सकिनन् अनि नजिकैको खोलामा फाल हालेर मरिन्।
अनि ८ वर्षको छोरा छाडेर भागिन्
काठमाडौँमा हुर्केकी शान्तिले गाउँमा हुने विभेदको भेद नहुने कुरै भएन। सेँठहरुले गर्ने व्यवहार सम्झेर त अहिले पनि उनको आँखा रसाउँछ। गाउँमा खानाको लागि सङ्घर्ष गर्नुपर्दथ्यो। उनको लोग्ने लगायत गाउँका पुरुषको बास भट्टीमा नै हुन्थ्यो। यही विषयमा लोग्नेसँग ठाकठुक परिरहन्थ्यो उनको।
एकदमै सामन्ती गाउँ थियो उनको। गरिब केटीहरूलाई जबरजस्ती करणी गर्थे। रूप राम्रो हुनु अभिसाप समान थियो।
उनको गाउँमा दलित समुदायकी एक युवती अति राम्री थिइन्। गुरुप्रसाद भन्ने एक जना प्रधानपञ्च थिए। तीनले ती प्रधानपञ्चले ती युवतीलाई जबरजस्ती करणी गर्न खोजे। भागिन्। तर सजाय उनैले पाइन्। नाङ्गै बनाएर गाउँ डुलाइयो।
‘शारीरिक सम्बन्ध राख्न हुने तर पानी भने नचल्ने। यो घटनाको कसैले विरोध गर्लान् भनेको गुपचुप राखियो। मलाई सैह्यय भएन’ उनले भनिन्।
उनको छोरा सानै उमेरको, जसोतसो घर धानिरहेकी थिइन्। घरका पुरुषले नखाई उनले खान पाउँदैनथिन्। पालो आउँदा खाना नै नहुने। अनि बच्चालाई पुग्ने दूध पनि नआउने शरीरबाट।
एक साँझ उनका श्रीमान् खाना खाने समयमा घर आएनन्। खोज्दै जाँदा जेठाजुको घरमा मदिराले लट्ठिएर बसेको अवस्थामा फेला पारे। गाली गरेर उनी घर फर्किइन्।
उनी घर त आइन्, श्रीमान् आएनन्। उनी त्यस रात भोकै सुतिन्। भोलिपल्ट बिहान भलाद्मी आए उनको घरमा। उजुरी नहालिदेउ भन्न थाले। बेलुकाको घटना डरलाग्दो रहेछ। उनको जेठाजुले श्रीमानलाई बन्दुक लिएर बुहारी मार्न पठाएका रहेछन्। धन्न गाउँलेले सम्झाएर फर्काएका रहेछन्।
गाउँमा कसैले हिंसा गर्यो भने शान्तिले उजुरी हाल्दिने, कराइदिने गर्ने भएकाले उनीहरू बिहानै सम्झाउन आएका रहेछन्। यो घटना यतिकै सेलायो।
गाउँमा सेँठहरुले कामको ज्याला त कहिल्यै दिँदैनथे, खेती लगाउने बेलामा बाहेक अन्न पनि दिँदैनथे। ज्यालाको रूपमा दिने अन्नको पनि व्याज लिन्थे। अनि साहुको ऋण तिरेर कहिल्यै नसकिने।
उनले यिनै अन्यायको कुरा लेखेर जिल्ला प्रशासन कार्यालयमा उजुरी दिइन्। उजुरी त दिइन् तर पक्राउ पुर्जी सेँठका विरुद्ध हैन उनी विरुद्ध आयो, २४ घण्टा भित्र उपस्थित हुने आदेश सहित। त्यो बेलामा भारतमा नक्सवादीहरु सक्रिय थिए। उनीमाथि नक्सलवादी कम्युनिस्ट भएको आरोप लाग्यो।
‘मलाई कम्युनिस्टबारे थाहै थिएन। सामन्तीहरू विरुद्ध उजुरी दिँदा उल्टो मलाई पो पक्राउ गर्न आदेश दियो’ उनले भनिन्।
उनले त्यतिबेला श्रीमानको साथ खोजिन्, तर पाइनन्। भागेर वीरगन्ज पुगिन् अनि आमासँग ५० रुपैयाँ लिएर काठमाडौँ आइन्। काठमाडौँमा खाने, बस्ने ठाउँ थिएन। कसैले एक संस्थाले दुख पाएका महिलालाई राख्छ भन्ने सुनाए। उनी त्यही संस्थामा गइन्।
२०४५ मा उनी आफैँले सृजना विकास केन्द्र नामक संस्था खोल्न लागिन्। संस्थामा हिंसा पीडित महिलाहरूको समूह बन्यो। तर संस्था दर्ता गर्न प्रहरी रिपोर्ट चाहियो। उनले यो लिन सक्ने कुरै भएन।
काठमाडौँमा पञ्चायत व्यवस्थाविरुद्ध आन्दोलन सुरु भयो। आन्दोलन सफल पनि भयो। नेपालमा बहुदल आयो।
बहुदल आएपछि संस्था खोल्न त सहज भयो तर उनीसँग नागरिकता थिएन। विवाह भइसकेपछि महिलाले श्रीमानको नामबाट नागरिकता लिनुपर्ने कानुन थियो। उनी श्रीमान् छाडेर एक्लै काठमाडौँ आएकी थिइन्।
शान्तिलाई यो व्यवस्था ठिक लागेन। उनले जिल्ला प्रशासन कार्यालय प्रमुखलाई ‘जसले मलाई चाहिएको बेला साथ दिएन। अब किन जाऊँ ? कि त मलाई नेपाली नागरिक नै हैन भनेर लेखेर दिनुस् कि अहिले जति कागज पेस गरेको छु उसैको आधारमा दिनुस्’ भनिन्।
उनले भनेको शब्दले काम गर्यो। तीन-चार दिनपछि सिडिओले उनलाई नागरिकता दिए। त्यसपछि उनलाई काम गर्न सहज भयो।
उनी पहिला महिला अधिकारको विषयमा जोडिएकी थिइन्। बिस्तारै वातावरण अनि नदी अभियानमा जोडिइन् ।
उनको भेट भयो पानी विज्ञ अजय दीक्षितसँग। अनि उनले पानीको विषयमा काम सुरु गरिन्। एसएलसी मात्र पास गरेकी थिइन् उनले। काम गर्दै जाँदा उनलाई आफ्नो पढाइ कम भएको महसुस भयो। २०७१ मा पद्मकन्या स्कुलमा कक्षा ११ मा भर्ना भइन्। उनले त्यहीँबाट कक्षा १२ उत्तीर्ण गरिन्। कक्षा १२ पास गरेपछि ५ वर्षे कोर्सको कानुनमा स्नातक गरिन्।
अहिले उनी उमेरले ६९ भइन्। उनले ४० वर्षपछि रोकिएको पढाई सुरु गरेर अहिले पुराना वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको बसेर काम सुरु गरिन्। अहिले पनि त्यहीँ छिन् उनी। त्यहीँबाट उनी नदी बचाउन कानुनी अभियानमा जोडिइन्। रिट हाल्न थालिन्। अहिले पनि नदी जोगाउन सक्रिय छिन्।
बाग्मतीको तिरै तिर साढे दुई वर्ष
यो बिचमा उनले पुस्तक समेत प्रकाशित गरिन् ‘बाघमती’। २०६९ मा हो उनको पुस्तक प्रकाशित भएको। किताब लेख्दा उनले पाउनुसम्म दुख पाएकी रहिछिन्।
किताबका लागि बागमती जताजता बगेको छ उतै जानैपर्यो। त्यहाँका स्थानीयसँग भेट्नै पर्यो। धार्मिक तथा सांस्कृतिक पाटो टिपोट गर्नैपर्यो। पटक-पटक बाग्द्बार अनि सुन्दरीजल पुग्नै पर्यो। त्यहाँबाट छैमलेसम्म हिँड्नैपर्यो।
बागमतीको ठाउँ-ठाउँको फोटो चाहियो। फोटो खिच्न अहिले जस्तो सहज थिएन। सामान्य क्यामेरा किन्न पनि ८/१० हजार लागिहाल्ने। अन्य खर्च पनि लाग्ने नै भयो। धेरै ठाउँ धाइन् तर सहयोग पाइनन्।
प्रारम्भमा किताब प्रकाशन गर्न बागमती सफाइमा जोडिएकाले आर्थिक सहयोग गर्लान् भन्ने आश रहेछ तर भएन। अनि बुढेसकालमा हिमाल हेर्दै किताब लेख्ने योजनामा दुखले नुवाकोटको लामागाउँमा किनेको जग्गा साढे दुई लाखमा बेचिन्। ८ हजारमा क्यामेरा किनिन्। एक लाख प्रेसलाई दिइन्। अनि लेख्ने काम सुरु गरिन्।
कहाँ नदीको अवस्था कस्तो छ ,घाट कति छन्, देवस्थलहरू कति छन् भनेर प्रत्यक्ष अवलोकनमा हिँडिन्। यसको धार्मिकदेखि सांस्कृतिक पाटोबारे खोतलिन। अध्ययन गरिन्। र, लेखिन्। बल्ल बल्ल उनको किताब प्रकाशित भयो ‘बाघमती’।
बागमतीको सांस्कृतिक पक्ष र नदीको हिजोको भौगोलिक अवस्था बुझ्न उनको किताब राम्रै स्रोत देखिन्छ। बागमती नदी कहाँ, कति मिचियो, हिजोको बागमती के कारण अहिलेको अवस्थामा आयो भन्ने बुझ्न सहयोग पूर्याउँछ उनको किताबले।
उनले भण्डारीकै ल फर्ममा काम गरिरहिन्। अनि यो बिचमा उसैगरि विष्णुमतीको अध्ययन गरेर किताब लेखिन्। किताबको पाण्डुलिपि तयार छ। तर प्रकाशित गर्ने प्रकाशक भेटेकी छैनन्।
‘७० वर्ष टेक्नै लागिसकेँ। अझैँ पनि मेरो जिन्दगी धोबीको गधा घर न घाटको झैँ भएर बितिरहेको छ’ उनले भनिन् ‘अहिले डेरामा बस्छु। ल फर्ममा काम गरेकाले खान दुख त छैन तर किताब निकाल्न सकेको छैन।’
फागुन १५, २०८१ बिहीबार १९:३१:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।