रारा ताल नजिकैको होटल डाँफेमा आगलागी, पाँच घर ध्वस्त, ७९ पर्यटक सुरक्षित

रारा ताल नजिकैको होटल डाँफेमा आगलागी, पाँच घर ध्वस्त, ७९ पर्यटक सुरक्षित

मुगु : रारा तालको किनारमा रहेको एक मात्र होटल डाँफेमा भएको आगलागीमा चार वटै घर नष्ट भएका छन्। बन कार्यालय र नेपाली सेनाको ब्यारेक नजिकै रहेको होटलमा भएको आगो निभाउनेक्रममा होटल सञ्चालक गोपाल बम र होटलका भान्से जगत थापा सामान्य घाइते भए।

आगालागिबाट पाँच वटै घरका सम्पूर्ण सामान नष्ट भए पनि होटलमा रहेका आन्तरिक तथा बाह्य पर्यटक सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक अच्युतराज आचार्यका अनुसार होटलमा आगलागी भएपछि ग्यास सिलिन्डर पड्किँदा पाँच वटा घर जलेर नष्ट भए।

‘काठका चार घर र ढुङ्गा माटोबाट निर्मित एउटा घर जलेर पूर्ण रूपमा नष्ट भएको छ”, उनले भने ‘ आगलागी हुँदा ७९ पर्यटक थिए। उनीहरू सबैलाई हनुमानध्वज गुल्मका सैनिकले सुरक्षित स्थानमा लगे।’

राति नै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा पुगेर आगो निभाएका थिए। रारा लेकको पारिपट्टि खाजा घरको रूपमा सुरु भएको स्थानलाई बमले होटलमा रूपान्तरण गरेका थिए। 

फागुन १५, २०८१ बिहीबार १९:०५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।