चिनिया र भारतीयपछि सुन तस्करीमा उज्बेकी नागरिक,मलद्वारमा लुकाएर नेपाल ल्याए पौने चार किलो सुन

चिनिया र भारतीयपछि सुन तस्करीमा उज्बेकी नागरिक,मलद्वारमा लुकाएर नेपाल ल्याए पौने चार किलो सुन

काठमाडौँ : हवाई मार्गबाट नेपालमा भन्सार छली गरेर हुने गरेको सुन तस्करीमा नेपालीसँगै भारतीय र चिनिया नागरिक संलग्न हुने गरेका थिए। पछिल्लो समय त विभिन्न आवरणमा नेपालमा रहेका चिनिया नागरिकहरूले नेपाली सहयोगी परिचालन गरेर सङ्गठित रूपमै सुनको तस्करी गर्ने गरेको खुलेको थियो।

यसमा भारतीय नागरिकहरू पक्राउ पर्दै आएका थिए। बिहीबार एकाएक सुन तस्करीमा नयाँ समूह पक्राउ परे उज्बेकिस्तानका।

मलद्वारमा सुन राखेर फलाइ दुबइको उडानमार्फत काठमाडौँ आएका चार जना तीन किलो ७ सय ४५ ग्राम सुनसहित भन्सार चेकजाँच पार गरेर बाहिरिइसकेको अवस्थामा बिहीबार पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा तीन जना महिला र एक पुरुष छन्। प्रहरीका अनुसार उनीहरू अख्मादजानोभना दिलफुजा मारिफ अलिभ, इजराइलोभना साओदत फेजिभा, सरदोर त्रुस्अनोभ र गुलाम्दजानोभन उमिदअख्मेदोभ रहेको खुलेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख सोमेन्द्रसिंह राठौरले राससलाई दिएको जानकारी अनुसार उनीहरू सबैले मलद्वारमा सुन लुकाएर ल्याएका थिए।

‘गए राति फलाइ दुबइको उडानमार्फत काठमाडौँ आएका तीन महिला र एक पुरुषलाई टर्मिनल गेटमा हाम्रो टोलीले चेक जाँच गर्ने क्रममा  सुनसहित फेला पारी पक्राउ गरेको हो’ उनले भने।

उनीहरूले सुन तस्करीमा नयाँ शैलीको प्रयोग गरेका थिए। सुन तस्करी गरेर सानो गुच्चा आकारमा बनाएर चारै जनाले मलद्वारमा लुकाएका थिए। चार जनाको साथबाट यस्ता २४ वटा गुच्चा आकारका सुन बरामद भयो। सुन जोख्दा तीन किलो ७ सय ४५ ग्राम देखिएको प्रहरीले जानकारी दिएको छ।

नेपालमा तस्करी हुने सुनको प्रयोजन भन्सार छलेर नेपाल भित्र्याएर स्थलमार्गहुँदै भारत र चीन पूर्याउने गरेको खुलेको थियो। यस अगाडि चिनिया नागरिकहरूले मोटरसाइकलको ब्रेक सुरुदेखि लिएर भेपमा राखेर सुन तस्करी गर्ने गरेको खुलेको थियो।

अहिलेसम्म भारत र चीन बाहेक तेस्रो देशको नागरिक सुन तस्करीमा पक्राउ परेका थिएनन्। प्रहरीको दाबी अनुसार पक्राउ परेकाहरूमध्ये तीन महिला सहयोगी र पुरुष सो सुनको मालिक रहेको दाबी गरेको छ।

उनीहरूले तस्करी गरेर नेपाल भित्र्याउने प्रयास गरेको सुन कुन प्रयोजनका लागि ल्याएका थिए र  नेपालमा उनीहरूको सहयोगी को थिए भन्ने खुलिसकेको छैन।

नेपालमा बरामद हुने अधिकांश सुन दुबईबाट ल्याउने गरेको अनुसन्धानले खुलाएको थियो। पक्राउ परेका उज्बेकीहरु पनि दुबईबाट नेपाल आएकाले पुरानै समूह सुन तस्करीमा पुन सक्रिय रहेको देखिन्छ।

फागुन १५, २०८१ बिहीबार १७:२८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।