सेयर बजारमा मौद्रिक नीतिको प्रभाव : नेप्सेले पार गर्यो २८ सयको विन्दु

काठमाडौँ : राष्ट्र बैंकको मौद्रिक नीति समीक्षाको सकारात्मक प्रभावका कारण बैंकिङ क्षेत्रको सेयर मूल्य ३.३२ प्रतिशतले बढ्दा बिहीबार सेयर बजारले २८ सय अंक नाघ्यो। बिहीबार नेप्से २८१५ मा मा पुगेर बजार बन्द भयो। नेप्से बढ्दा कारोबार रकम समेत बढेको छ। अघिल्लो दिन ९ अर्ब ९० करोडको कारोबार भएर बजार बन्द भएको थियो। बिहीबार ११ अर्ब ३९ करोडको कारोबार भयो
बिहीबार १ सय ८६ कम्पनीको मूल्य बढ्यो भने ५२ वटा कम्पनीको घट्यो। ६ कम्पनीको मूल्य स्थिर भयो। बिहीबारको कारोबारमा बैंकिङ सेक्टर सबैभन्दा धेरै ३.३२ प्रतिशतले मूल्य बढ्यो। बैंकिङ पछि उत्पादन सेक्टर २.९१ प्रतिशतले बढ्यो। व्यापार १.२०, अन्य १.०१, निर्जीवन बिमा ०.७०, माइक्रोफाइनान्स ०.९१, जीवन बिमा ०.८१, लगानी १.२५, हाइड्रोपावर १.८०, होटेल तथा पर्यटन १.१२, फाइनान्स ०.२८ र विकास बैंक समूह १.५३ प्रतिशत बढेर बजार बन्द भयो।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, अपरहेवाखोला, सिन्धु विकास बैंक र दोर्दीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको थियो। लिबर्टी इनर्जीको मूल्य ९.९६, गुराँस लघुवित्तको ९.२४, बोटलर्स नेपाल बालाजुको ८.९९ प्रतिशत मूल्य बढेर बजार बन्द भयो। यता भूगोल इनर्जीको ७.१७ तथा उपकार लघुवित्तको ६.२५ प्रतिशतले मूल्य घट्यो।
कारोबार रकमको आधारमा हिमालयन रिइन्स्योरेन्सको ९६ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएर उच्च कारोबार हुने कम्पनी भयो। धेरै कारोबार भएका अन्य कम्पनीमा नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, सिंगटी हाइड्रोपावर र कुमारी बैंक छन्।
फागुन १५, २०८१ बिहीबार १६:४६:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।