मलद्वारमा लुकाएर पौने चार किलो सुन तस्करी, सुरक्षा जाँचमा पास भएर बाहिरएपछि पक्राउ

मलद्वारमा लुकाएर पौने चार किलो सुन तस्करी, सुरक्षा जाँचमा पास भएर बाहिरएपछि पक्राउ

काठमाडौं : बुधबार राति फ्लाइ दुबईको एफजेएड ५७५ नम्बरको विमानबाट काठमाडौं आएका तीन महिलासहित चार उज्बेकिस्तानी नागरिकबाट पौने चार किलो सुन बरामद गरेको छ।

त्रिभुवन विमानस्थलको सुरक्षा जाँच पास गरेर बाहिरिइरहेका उनीहरूलाई प्रहरीले शंका लागेर नियन्त्रणमा लिँदा उनीहरूको साथबाट पौने चार किलो सुन बरामद भएको हो।

चार जनामध्ये अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामनोभन उमिदा अखमेदोभ र सरदार तुर्सुनोभ(पुरुष)बाट सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

उनीहरूको साथबाट तीन किलो ७४५ ग्राम सुन बरामद गरिएको हो। मलद्वारमा २४ वटा साना गुच्चा बनाएर राखेको अवस्थामा देखिएपछि उक्त सुन निकालिएको हो।

एसएसपी राठौरका अनुसार पक्राउ परेका तीन महिला भरिया र पुरुष भने मालिक रहेको तथ्य खुलेको छ। तीनै महिलाले सुनबारे सबै जानकारी तुर्सोनोभलाई हुने बयान दिएका छन्।

बरामद सुन र पक्राउ परेका चारै जनालाई विमानस्थल भन्सार कार्यालय बुझाउने प्रहरीको तयारी छ। भन्सारले उनीहरूमाथिको अनुसन्धान सकेपछि भन्सार छली तथा चोरी पैठारीमा मुद्दा चलाउने छ।

फागुन १५, २०८१ बिहीबार १३:५९:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।