बुवाको सम्झनामा सत्यराजले ल्याए ‘१४ फागुन’, दुई छोराले गरे लोकार्पण

बुवाको सम्झनामा सत्यराजले ल्याए ‘१४ फागुन’, दुई छोराले गरे लोकार्पण

काठमाडौं : संगीतकार तथा गायक सत्यराज आचार्यले पहिलो साहित्यिक कृति ‘१४ फागुन’ सार्वजनिक गरेका छन्।

पिता भजनशिरोमणि भक्तराज आचार्यको पहिलो वार्षिकी पूण्यतिथीको अवसर पारेर जमलस्थित राष्ट्रिय नाचघरमा आफ्नो पहिलो साहित्यिक कृति ‘१४ फागुन’ लोकार्पण गरेका हुन्।

साहित्यिक कृतिलाई सत्यराज र स्वरूपराज आचार्यका छोरा संगीत र सरगम आचार्यले विमोचन गरे।

पिताले संसार त्यागेको दिनको सम्झनामा त्यही मितिलाई शीर्षक राखेर सिर्जित पुस्तकमा ८२ वटा हाइकू समावेश छन्।

पुस्तक लोकार्पण समारोहमा लेखक आचार्यले पुस्तकमा समावेश भएका १८ वटा हाइकु वाचन गरेर सुनाए।

हाइकुपछि आचार्यले आफ्नो अपेक्षा गरेभन्दा बढी पाठकले मन पराइदिने विश्वास व्यक्त गरे।

कार्यक्रममा सहभागी वरिष्ठ संगीतकार शम्भूजित बास्कोटाले भजन शिरोमणि भक्तराज आचार्यद्वारा नेपाली सांगीतिक क्षेत्रमा पुर्याइएको योगदानको स्मरण गर्दै उनका दुई छोराहरूको प्रशंसा गरे।

समारोहमा कवि विप्लव प्रतिकले सत्यराजको हाइकु लेखनका बारे चर्चा गरे। उनले ‘१४ फागुन’मा धेरै राम्रो विषयहरू समावेश भएको बताए।

यसैगरी कानूनविद भीमाजुृन आचार्य (अर्जुन मिलन) तथा कवि रवि प्राञ्जलले पनि सत्यराजलाई बहुप्रतिभाशाली व्यक्तित्व भएको चर्चा गर्दै हाइकु संग्रहमा समावेश भएका हाइकुहरुको बारेमा टिप्पणी गरे।

बुकहील पब्लिकेशनले प्रकाशन गरेको पुस्तकको मूल्य पाँच सय रुपैयाँ राखिएको छ।

फागुन १५, २०८१ बिहीबार १३:३७:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।