दिल्ली : आम आदमी पार्टीका सांसदलाई विधान सभामा प्रवेशमा रोक, प्रहरीसँग गेटमै लफडा

दिल्ली : आम आदमी पार्टीका सांसदलाई विधान सभामा प्रवेशमा रोक, प्रहरीसँग गेटमै लफडा

एजेन्सी : भारतको दिल्ली विधानसभा प्रमुख प्रतिपक्षी दल आम आदमी पार्टीकी नेतृ तथा पूर्व मुख्यमन्त्री आतिशीले आफ्नो पार्टीका सांसदहरूलाई विधान सभा भवनमा प्रवेश गर्न नदिएको बताएकी छिन्।

उनले भारतीय जनता पार्टी (भाजपा) सत्तामा आएपछि तानाशाहीको सबै सीमा पार गरेको समेत बताइन्। आतिशीले सभा परिसरमा तैनाथ प्रहरीहरूसँग चर्को बहस गर्दै किन सभामा प्रवेश गर्न दिइएन भनेर प्रश्न गरिन्।

उनले सामाजिक सञ्जाल एक्समा लेखिन्, ‘भाजपाका मानिसहरूले सत्तामा आउने बित्तिकै तानाशाहीका सबै सीमा पार गरे।’

आम आदमी पार्टीका सांसदहरूलाई ‘जय भीम’ नारा लगाएकोमा तीन दिनको लागि सदनबाट निलम्बन गरिएको थियो। आज आपका सांसदहरूलाई विधानसभा परिसरमा प्रवेश गर्न पनि दिइएको छैन।

दिल्ली विधानसभाको इतिहासमा निर्वाचित सांसदहरूलाई विधानसभा परिसरमा प्रवेश गर्न बन्देज लगाइएको यो पहिलो पटक हो।

मंगलबार आतिशी र गोपाल राई सहित आम आदमी पार्टीका २१ सांसदहरूलाई मार्शलहरूले निकालेका थिए। उनलाई तीन दिनको लागि सदनबाट निलम्बन गरिएको थियो।

२०२२/२१ को हाल रद्द गरिएको मदिरा नीतिमा क्यागको प्रतिवेदन प्रस्तुत हुनुभन्दा अगाडि यी सांसदहरूले दिल्ली विधानसभामा विरोध प्रदर्शन सुरु गरेका थिए।

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले प्रस्तुत गरेको ‘दिल्लीमा मदिराको नियमन र आपूर्तिमा प्रदर्शन लेखा परीक्षण’ प्रतिवेदन अनुसार यस नीतिका कारण दिल्ली सरकारले दुई हजार करोड रुपैयाँभन्दा बढीको घाटा बेहोरेको उल्लेख थियो।

फागुन १५, २०८१ बिहीबार १३:०९:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।