दोस्रो हाफमा लय गुमाउँदा ‘फोर नेसन्स कप’काे उपविजेतामै सीमित भयो नेपाल, उपाधि म्यान्मारलाई

काठमाडौं : फोर नेशन्स महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिपको उपाधि म्यानमारले जितेको छ। आज रङ्गशालामा भएको फाइनलमा नेपाल म्यानमारसँग २-० ले पराजित भयो ।
फाइनलमा पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा लय गुमाउँदा दुई मिनेटको अन्तरमा म्यानमारले लगातार दुई गोल गर्यो। नेपालले कुनै गोल फर्काउन नसकेपछि उपविजेतामा चित्त बुझाउनुपर्यो।
म्यानमारका लागि यु पेर खियाङ र कप्तान विन थेङ्यी तुनले गोल गरे। नेपालले खेलको सुरुवात राम्रो गरे पनि पहिलो हाफमा प्राप्त अवसरलाई सदुपयोग गर्न सकेन। खेलको २४औं मिनेटमा म्यानमारकी सान थाउ थाउको प्रहार गोल किपर बिमला विकले बचाइन्।
३५औं मिनेटमा नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ को प्रहार म्यानमारकी गोलकिपरले बचाइन्। त्यसपछि भएको रिबाउन्डमासमेत नेपालले गोल गर्न सकेन।
४४औं मिनेटमा रेणुका नगरकोटीको क्रसलाई म्यानमारकी गोलकिपरले फुत्काएपछि साम्बा र रेखाले बल जाली चुमाउन सकेनन्।
नेपालले यसअघि कीर्गिस्तान र लेबनानलाई हराउँदै फाइनल पुगेको थियो। फाइनलमा पराजित भएपछि नेपालको उपाधि जित्ने सपना फेरि अधुरै रह्यो।
फागुन १४, २०८१ बुधबार २२:२७:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।