पत्याउनै पर्‍यो ! माओवादी केन्द्रले चन्दामा एक पैसा पाएन, सम्पत्ति १५ करोड

पत्याउनै पर्‍यो ! माओवादी केन्द्रले चन्दामा एक पैसा पाएन, सम्पत्ति १५ करोड

काठमाडौँ : माओवादी केन्द्रको आर्थिक वर्ष २०८०/८१ को आय-व्यय विवरणमा सो शून्य चन्दा पाएको उल्लेख छ। पार्टीले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा पार्टीले व्यक्तिगत वा संस्थागत रूपमा एक पैसा चन्दा नपाएको उल्लेख छ। गत आर्थिक वर्षमा पनि जम्मा १० हजार चन्दा पाएको उल्लेख छ।

सुशासन कानुन अनुसार २५ हजारभन्दा बढी सहयोग गर्नेको नाम सार्वजनिक गर्नुपर्छ। माओवादीको लेखा परीक्षण प्रतिवेदनमा चन्दै नपाएको उल्लेख भएकाले यसमा चन्दा दाताको नाम उल्लेख हुने कुरै भएन।

वार्षिक प्रतिवेदन अनुसार उसले १ करोड ६६ लाख ५२ हजार रुपैयाँ आम्दानी गरेको देखिन्छ। आम्दानीको अधिकांश माग पार्टी सदस्यता देखिन्छ। आर्थिक वर्ष २०७९/८० को उसले ३ करोड ४८ लाख ३७ हजार रुपैयाँ आम्दानी गरेको उल्लेख थियो।

सदस्यता नवीकरण शुल्क मुख्य आम्दानी स्रोत

लेखा परीक्षण प्रतिवेदन अनुसार माओवादी केन्द्रको प्रमुख आम्दानी स्रोत पार्टी सदस्यता शुल्क, लेवी तथा नवीकरण शुल्क देखिन्छ। अन्य आम्दानी स्रोतमा प्रकाशन तथा बिक्रीबाट २ लाख ६५ हजार रुपैयाँ, सम्पत्ति बिक्रीबाट २ हजार ५०० रुपैयाँ, तथा बैंकको ब्याजबाट ४६ हजार रुपैयाँ प्राप्त भएको उल्लेख छ।

कार्यालय सञ्चालनमै धेरै खर्च

अघिल्लो वर्षको तुलनामा पार्टीको खर्च पनि घटेको देखिन्छ। आर्थिक वर्ष २०८०/८१ मा कुल खर्च २ करोड २० लाख ७९ हजार रुपैयाँ भएको छ, जुन अघिल्लो वर्षको ३ करोड १२ लाख ५५ हजार रुपैयाँ भन्दा कम हो।

सबैभन्दा बढी खर्च कार्यालय सञ्चालनमा भएको देखिन्छ। यसका लागि १ करोड ३० लाख ३३ हजार रुपैयाँ खर्च भएको देखिन्छ। अघिल्लो वर्ष १ करोड ६० लाख ६६ हजार रुपैयाँ खर्च भएको थियो।

अन्य खर्चमा विधान अधिवेशनमा १८ लाख ६५ हजार , प्रशिक्षण तथा कार्यक्रम खर्च २० लाख ५२ हजार,कार्यालय उपकरण खरिदमा ९ लाख २९ हजार र सामाजिक कार्यक्रम खर्च ५० लाख उल्लेख छ।

पार्टीमा १४ लाख ७६ हजार रुपैयाँ नगद मौज्दात रहेको देखिन्छ। अघिल्लो वर्ष यो रकम १६ लाख १६ हजार थियो।

२०७९/८० मा माओवादी केन्द्रले निर्वाचन खर्चमा २ करोड ५० लाख ६६ हजार उल्लेख गरेको थियो। तर २०८०/८१ मा निर्वाचन खर्च उल्लेख गरेको छैन।

माओवादी केन्द्रमा महिला, विद्यार्थी, शिक्षक, कर्मचारी, मजदुरदेखि पत्रकारहरूसम्मको भातृ संगठन छन्। लेखा परीक्षण प्रतिवेदन अनुसार ती भातृ संगठन सञ्चालनका लागि केन्द्रले एक पैसा पनि खर्च गरेन २०८०/०८१ मा। लेखा परीक्षण प्रतिवेदनमा भातृ सङ्गठनहरू राजनीतिक रूपमा पार्टीसँग आबद्ध भए पनि आर्थिक रूपमा स्वतन्त्र रहने भएकाले उनीहरूको आय/व्यय उल्लेख नगरिएको लेखिएको छ।

सम्पत्ति १५ करोड

लेखा परीक्षण प्रतिवेदन अनुसार माओवादीसँग १५ करोड २१ लाख सम्पत्ति रहेको देखिन्छ। सम्पत्ति विवरण अनुसार १४ करोड बराबरको जग्गा तथा भवन रहेको उल्लेख छ।

एक करोड १७ लाख बराबरको कार्यालय सम्बन्धी उपकरण रहेको उल्लेख छ। यी दुवै जोड्दा पार्टीको नाममा १५ करोड २१ लाख बराबरको सम्पत्ति रहेको देखिन्छ।

पार्टीका कुनै अक्षय कोष नरहेको तर कार्यकर्ता संरक्षण कोषमा एक करोड ६७ लाख रुपैयाँ रहेको देखिन्छ। पार्टीको सम्पत्तिको विवरण उल्लेख गरिएको अनुसूची भने सार्वजनिक गरिएको लेखा परीक्षण प्रतिवेदनबाट हटाइएको छ।

फागुन १४, २०८१ बुधबार १७:०८:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।