युक्रेनको खनिजमा अमेरिकाको नजर : ६० खर्बको खनिज सम्झौतामा डिल

युक्रेनको खनिजमा अमेरिकाको नजर : ६० खर्बको खनिज सम्झौतामा डिल

एजेन्सी : संयुक्त राज्य अमेरिकाले खनिज सम्झौताका लागि राखेको सर्त युक्रेनले स्वीकार गरेको छ। विशेष गरी लिथियम, टाइटेनियम, कोइला, ग्यास, तेल र युरेनियम जस्ता प्राकृतिक सम्पदामा अमेरिकाले हिस्सेदारी खोजेको थियो।

कीभका एक वरिष्ठ अधिकारीको भनाई उद्धृत गर्दै बिबिसी अमेरिकाको प्रस्तावमा केही संशोधन गरेर सहमति जनाएको उल्लेख गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रारम्भमा युक्रेनमा रहेको करिब ६० खर्ब रुपैयाँ बराबरको खनिजको राजस्वको अधिकार मागेका थिए। तर अहिले यो माग छोडेर संयुक्त स्वामित्व कोष स्थापना गर्ने प्रस्ताव अघि सारिएको बताइएको छ।

यस कोषअन्तर्गत युक्रेनले आफ्नो राज्य-स्वामित्वका खनिज स्रोतहरू, तेल र ग्यासबाट प्राप्त हुने आम्दानीको ५० प्रतिशत युक्रेनको पूर्वाधार र अर्थतन्त्र पुनर्निर्माणमा खर्च गरिने दाबी गरिएको छ। युद्धपछिको सुरक्षा ग्यारेन्टीबारे भने कुनै समझदारी भएको पुष्टि भएको छैन।

युक्रेनमा कति छ खनिज सम्पदा ?

विश्वको लगभग ५ प्रतिशत महत्त्वपूर्ण कच्चा पदार्थहरू युक्रेनमा रहेका छन्। त्यसमा  विद्युतीय सवारी साधनका ब्याट्रीहरूका लागि आवश्यक १९ मिलियन टन ग्राफाइटको प्रमाणित भण्डार युक्रेनमा छ।

युरोपेली लिथियम भण्डारको एक-तिहाइ हिस्सा युक्रेनसँग छ। पूर्व-युद्ध अवस्थामा, विश्वको सात प्रतिशत टाइटेनियम युक्रेनबाट उत्पादन हुने गरेको थियो।

हतियार, वायु टर्बाइन र इलेक्ट्रोनिक्स निर्माणमा प्रयोग हुने १७ प्रकारका दुर्लभ धातुहरू युक्रेनमा रहेको मानिन्छ। त्यसमध्ये पनि करिब ४२ खर्ब रुपैयाँ बराबरका खनिज सम्पदा रुसले कब्जा गरेको क्षेत्रमा रहेको युक्रेनले दाबी गर्दै आएको छ।

रुसका राष्ट्रपति पुटिनले पनि अमेरिकालाई दुर्लभ खनिजहरूमा पहुँच प्रदान गर्ने प्रस्ताव अघि सारेका छन्, जसमा युक्रेनका रुसी-कब्जा क्षेत्रहरूका सम्पदा समेत समावेश छन्।

ट्रम्पपछि अमेरिकाले बदल्यो युक्रेन नीति

रुस-युक्रेन युद्धमा युक्रेनलाई सैन्य तथा आर्थिक स्रोत उपलब्ध गराउँदै आएको अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि एकाएक उनले युक्रेन नीति बदले।

राष्ट्रपति ट्रम्पले युक्रेनलाई अमेरिकी करदाताको रकमबाट सहयोग गरेको भन्दै सो रकम फिर्ता मागेका थिए। उनले युक्रेन-रुस युद्ध अन्त्यका लागि शान्ति सम्झौता आवश्यक रहेको बताउँदै आएका छन्। ट्रम्पले युक्रेनलाई अमेरिकाले गरेको सहयोगको बदलामा त्यहाँ रहेका खनिजमा पहुँचको माग राखेका थिए।

फागुन १४, २०८१ बुधबार १५:४४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।