सेना दिवसमा टुँडिखेलमा देखाइयो शिव ताण्डवदेखि फ्रिफलसम्म
काठमाडौँ : महाशिवरात्रि र २६१ औँ सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा नेपाली सेनाका सदस्यहरूले शिव ताण्डवदेखि प्याराजम्प कलासम्म देखाए।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विशिष्ट अतिथिहरू सहभागी कार्यक्रममा बढाइँसँगै सैनिक कलाहरू प्रदर्शन भएका थिए।
विशेष समारोहमा सेनाको शक्ति झल्काउने झलकहरूसँगै फ्री फल जम्प र विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएका थिए। राष्ट्रपति पौडेलले समारोहमा ‘फ्री फल जम्प’मा प्रथम हुने सेनानी जगनाथ दनै र दोस्रो हुने अमलदार मित्रबहादुर राना मगरलाई पुरस्कार प्रदान गरेका थिए।
समारोहमा भारतीय, बेलायती र अमेरिकी सेनाका टोली प्रमुखहरू समेत सहभागी थिए। समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ तथा कवाज प्रस्तुत गरेको थियो। समारोहमा सेनाद्वारा विभिन्न रण कौशल, मार्चपास तथा परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरेको थियो।
समारोहमा सेनाको तर्फबाट शान्ति मिसनमा प्रयोग गर्दै आएका सवारीसाधन, उपकरण र हातहतियारको प्रदर्शन गरिएको थियो। समारोहमा भारतीय स्थल सेनाका पूर्वप्रमुखहरू जोगिन्दर जसवन्त सिंह, दीपक कपुर, विजयकुमार सिंह, दलवीरसिंह सुहाग, मनोजमुकुन्द नरवणे र मनोज पाण्डे सहभागी थिए।
फागुन १४, २०८१ बुधबार १४:५६:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।