‘इको भ्यान’ कालीगण्डकीमा खस्दा चालकको मृत्यु, तीन जना घाइते

‘इको भ्यान’ कालीगण्डकीमा खस्दा चालकको मृत्यु, तीन जना घाइते

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा ‘इको भ्यान’ दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन्।   बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरबाट नारच्याङतर्फ जाँदै गरेको बा६च ४९४४ नम्बरको इकोभ्यान बुधवार सडकबाट कालीगण्डकी नदीको किनारमा खसेको हो।    

दुर्घटनाका कारण भ्यानका चालकसमेत रहेकी अन्नपूर्ण–४ घरापकी अन्दाजी ४० बर्सिया सुनदेवी गौचन (सरिता)को घटनास्थलमै मृत्यु भएको सीमा प्रहरी चौकी भुरुङ तातोपानीका प्रमुख प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिए।    

नारच्याङमा रहेको शिव मन्दिर जाने यात्रु चढेको भ्यान सडकबाट करिब एक सय ५० मिटर तल कालीगण्डकी किनारमा खसेको छ।  दुर्घटनामा रुपा पुन, नमिता चोचाङ्गी र विष्णुकुमारी बुढाथोकी गम्भीर घाइते भए। उनीहरूको उद्धार गरेर पोखरा अस्पतालमा पठाइएको छ।     

फागुन १४, २०८१ बुधबार १४:३९:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।