महिला च्याम्पियनसिप फुटबलको लागि नेपाल र म्यानमार भिड्दै

काठमाडौं : महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुँदैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ।
अहिलेसम्म कुनै उपाधि जित्न नसकेको नेपाली महिला टोली पहिलो उपाधि जित्दै दाउमा छ। यो नेपालका लागि ६ वर्ष अघि भारतमा भएको हिरो गोल्डकपको फाइनलमा भोगेको हारको बदला लिने अवसर समेत हो।
उपाधि जित्न नसकेको नेपाली राष्ट्रिय महिला टोलीका लागि यो महत्वपूर्ण अवसर हो। अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको करिब ४ दशकसम्म महिला टोलीले कुनै उपाधि जित्न सकेको छैन।
उसका लागि घरेलु मैदान र दर्शकको साथमा पहिलो उपाधि दिलाउने अवसर आएको छ। १२ पटक फाइनल पुगेर पनि उपाधि जित्न नसकेको नेपालसामु आएको यो १३औं अवसर हो।
प्रतियोगितामा अपराजित रहँदै नेपाल र म्यानमार फाइनल पुगेका हुन्। दुवैले लेबनान र कीर्गिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन्। लिग चरणमा नेपालले दुवै टोलीलाई समान १-० गोलले हराउँदा म्यानमारले लेबनानलाई ३-१ र कीर्गिस्तानलाई ५-० ले हराएको थियो।
फिफाको महिला वरीयतामा ५५औं स्थानमा रहेको म्यानमार र १०३औं स्थानको नेपालबीच हुन लागेको यो छैटौं भेट हो। पछिल्लो पटक यहि प्रतियोगिताको लिग चरणमा भएको खेल २-२ गोलको बराबरी भएको थियो। त्यसअघि ४ खेल खेल्दा १ बराबरी र ३ खेलमा नेपाल पराजित भएको छ।
फागुन १४, २०८१ बुधबार ०८:४२:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।