भारतको केआइआइटीमा नफर्कने नेपाली विद्यार्थीले टियूमै पढ्न पाउने

भारतको केआइआइटीमा नफर्कने नेपाली विद्यार्थीले टियूमै पढ्न पाउने

काठमाडौँ : भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा फर्कन नचाहने नेपाली विद्यार्थीले त्रिभुवन विश्वविद्यालय (टियू) मै अध्ययन गर्न पाउने भएका छन्।

नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युसँगै नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारपछि त्यहाँ अध्ययनरत नेपाली विध्यार्थीहरुमध्ये केही नेपाल फर्किएका छन्। नेपाल फर्किएका विद्यार्थीको सङ्ख्या कति छ कतै एकिन तथ्याङ्क छैन।

टीयूले मङ्गलवार विज्ञप्तिमार्फत समस्यामा परेका विद्यार्थीलाई ‘क्रेडिट ट्रान्सफर’ गरेर टीयूमा अध्ययन गर्ने व्यवस्था मिलाएको उल्लेख छ।

त्रिविका शिक्षाध्यक्ष प्रा डा खड्ग केसीले जारी गरेको विज्ञप्तिमा भारतको केआइआइटी विश्वविद्यालयमा सिर्जना भएको समस्याको कारणले स्वदेशमा फिर्ता भएका विद्यार्थीलाई त्रिविको ‘क्रेडिट ट्रान्सफर’ नीतिअनुसार भर्ना हुने व्यवस्था गरिएको उल्लेख छ।

‘भारतको उडिसा राज्यको भुवनेश्वरस्थित केआइआइटीमा सिर्जना भएको समस्याको कारणले स्वदेश फिर्ता हुन बाध्य भएका नेपाली विद्यार्थीले त्रिविमा सञ्चालित कार्यक्रम र विषयमा अध्ययन गर्न चाहेमा त्रिविको क्रेडिट ट्रान्सफर नीति अनुरूप भर्ना गर्न सकिने ब्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ।

फागुन १३, २०८१ मंगलबार २२:४४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।