‘निषेधित क्षेत्र’मा चिलिममा गाँजा बुङ्बुङ

काठमाडौँ : नेपालको कानुन अनुसार गाँजा-भाङको सेवन र विक्री वितरण गैर कानुनी छ। यही कानुनलाई देखाएर हरेक वर्ष शिवरात्रि अगाडि पशुपति क्षेत्र विकास कोष अनि प्रहरीले पशुपति क्षेत्रलाई गाँजा र भाङ निषेधित क्षेत्र घोषणा गर्छन्। अनि हरेक वर्ष उनीहरूको घोषणाले फेल खान्छ।
यो वर्ष पनि कोषले पत्रकार सम्मेलन आयोजना गरेर यस्तै घोषणा गरे। गाँजा अनि भाङको सेवन तथा विक्री वितरण गरेर कार्वाहीको चेतावनी दिए। तर शिवरात्रिको अघिल्लो दिनबाटै उनीहरूको चेतावनीले हावा खायो।
शिवरात्रिमा पशुपति परिसरमा आउने मुख्यतः नागा, अघोरी लगायतका साधुहरू जहाँ बस्छन् त्यही सार्वजनिक रूपमै गाँजा सेवन गर्छन्। शिवको प्रसाद भन्दै गाँजा सेवन गर्न चाहने सर्वसाधारण उनीहरूको धुनीसँगै बस्छन् अनि निस्फिक्री गाँजा तान्छन्।
शिवरात्रिको दिन गाँजाका पारखीहरूको भिडै लाग्छ। साधुको भेषमा रहेका गाँजाका व्यापारीहरूले साना-साना पोका बनाएर गाँजा बेच्छन्। गाँजाको नशामा धुत भएर रल्लिएका सर्वसाधारण टन्नै भेटिन्छन् पशुपति क्षेत्रमा शिवरात्रिको दिन। तै पनि प्रहरी होस् कि कोष भनिरहन्छ ‘गाँजा निषेधित क्षेत्र।’ तान्नेले तानिरहन्छन् ‘हर हर महादेव’ भन्दै।
फागुन १३, २०८१ मंगलबार २२:२५:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।