महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पुगे पशुपतिमा

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पुगे पशुपतिमा

काठमाडौँ : महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओली पशुपति क्षेत्र पुगेका छन्। उनले मंगलबार बेलुका पशुपतिनाथको दर्शन गरे अनि शिवरात्रिको तयारीको अवलोकन समेत गरेका थिए।

उनले मन्दिरमा पूजा र आरती गर्नुका साथै महाशिवरात्रिको तयारी र व्यवस्थापनबारे पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी लिएका थिए। प्रधानमन्त्री ओलीले पर्वलाई सुरक्षित, अनुशासित, मर्यादित तथा व्यवस्थित बनाउन निर्देशन दिएका थिए।

उनीसँग संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलगायत पनि पशुपतिनाथ मन्दिर पुगेका थिए।  महाशिवरात्रिको अवसरमा बुधवार पशुपतिमा भव्य मेला तथा पूजा अर्चना हुँदैछ। त्यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको कोषले जानकारी दिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गरी फागुन १२ गतेदेखि १५ गतेसम्म पशुपतिनाथ मन्दिरको चार किल्लाभित्र मासु, मदिरा तथा नसालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न निषेध गरेको छ।

फागुन १३, २०८१ मंगलबार २०:३५:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।