मौद्रिक नीति अर्ध वार्षिक समीक्षा : बैंकिङ तथा वित्तीय क्षेत्रमा सुधारका संकेत

मौद्रिक नीति अर्ध वार्षिक समीक्षा : बैंकिङ तथा वित्तीय क्षेत्रमा सुधारका संकेत

काठमाडौं : नेपाल राष्ट्र बैंकले अर्ध वार्षिक मौद्रिक समीक्षा सार्वजनिक गर्दै बैंकिङ तथा वित्तीय क्षेत्रमा सुधारका संकेत देखिएको जनाएको छ। समीक्षामा वित्तीय स्थायित्व, तरलता व्यवस्थापन, कर्जा प्रवाह, निक्षेप संकलन, ब्याजदर नियन्त्रण तथा डिजिटल बैंकिङ प्रवर्द्धनमा सकारात्मक संकेत गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रमा तरलता अभाव कम हुँदै गएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा बैंकिङ संस्थाहरूमा कुल कर्जा प्रवाह ९.३५ प्रतिशतले वृद्धि भएको छ। बैंकहरूले साना तथा मझौला उद्यमहरूलाई प्राथमिकता दिँदै ऋणको पहुँच विस्तार भएको उल्लेख छ।

राष्ट्र बैंकले वित्तीय बजारमा तरलता सहज बनाउन विभिन्न हस्तक्षेप गरेको देखिन्छ। यस अन्तर्गत रिफाइनान्सिङ, स्थायी तरलता सुविधा (SLF) तथा रिपो अपरेसनको प्रभावकारिता बढाइएको छ। यसले विशेष गरी कृषि, ऊर्जा, उत्पादनमूलक उद्योग तथा पूर्वाधार क्षेत्रमा कर्जा लगानी वृद्धि गर्न मद्दत गरेको देखिन्छ।

ब्याजदर व्यवस्थापन र वित्तीय स्थिरता

बैंकिङ क्षेत्रमा ब्याजदर अस्थिरता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति लागू गरेको छ। समीक्षाका अनुसार बैंकहरूले निक्षेप सङ्कलनमा प्रतिस्पर्धात्मक ब्याजदर राखेका छन्, जसले बैंकिङ प्रणालीमा स्थिरता ल्याउने अपेक्षा गरिएको छ। ब्याजदर स्थिर राख्नका लागि राष्ट्र बैंकले मौद्रिक नीतिमा लचिलोपन अपनाउँदै आवश्यकताअनुसार हस्तक्षेप गर्ने नीति अख्तियार गरेको देखिन्छ।

डिजिटल बैंकिङ प्रवर्द्धन र भुक्तानी प्रणाली सुधार

राष्ट्र बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्दै भुक्तानी प्रणाली सुधार गर्ने योजना अघि सारेको छ। मोबाइल बैंकिङ, क्युआर कोड भुक्तानी, रियल टाइम ग्रस सेटलमेन्ट (RTGS) प्रणालीलाई थप प्रभावकारी बनाउने नीति अवलम्बन गरिएको छ।

डिजिटल बैंकिङ प्रवर्द्धनसँगै बैंकिङ पहुँच ग्रामीण क्षेत्रमा समेत विस्तार भइरहेको राष्ट्र बैंकले जनाएको छ। वित्तीय समावेशितालाई मजबुत बनाउन डिजिटल भुक्तानी सेवा प्रदायक संस्थाहरूसँग सहकार्य गर्दै वित्तीय कारोबारलाई सहज र पारदर्शी बनाउने प्रयास भइरहेको उल्लेख छ।

फागुन १३, २०८१ मंगलबार २०:१४:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।