मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा : आर्थिक वृद्धिदर ६ प्रतिशत हुने अनुमान

मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा :  आर्थिक वृद्धिदर ६ प्रतिशत हुने अनुमान

काठमाडौं : नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामा चालु आर्थिक वर्ष २०८१/८२ मा देशको आर्थिक वृद्धिदर ६ प्रतिशत पुग्ने अनुमान गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा आर्थिक वृद्धिदर ३.८७ प्रतिशत थियो। समीक्षा अनुसार वित्तीय क्षेत्र, राजस्व संकलन, वैदेशिक व्यापार तथा बैङ्किङ क्षेत्रमा सकारात्मक सुधार देखिएको छ।

आर्थिक वृद्धिदर र मुद्रास्फीति

मध्यावधि समीक्षामा नेपालको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको उल्लेख छ। चालु आर्थिक वर्षमा मुलुकको औसत मुद्रास्फीति ६ प्रतिशत रहने अनुमान गरिएको छ भने वित्तीय संस्थाहरूमा कर्जाको वृद्धिदर १०.७२ प्रतिशत रहेको छ, जसले बजारमा तरलता व्यवस्थापनलाई प्राथमिकता दिएको देखिन्छ।

समीक्षामा राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ। चालु आर्थिक वर्षमा १०.९१ प्रतिशतले वृद्धि हुनसक्ने उल्लेख छ।

वैदेशिक व्यापार र बैङ्किङ क्षेत्र

विप्रेषण आप्रवाहमा समेत वृद्धि देखिएको छ, जसले विदेशी मुद्राको सञ्चितिमा सुधार ल्याएको छ। बैङ्किङ क्षेत्रमा कुल कर्जा प्रवाह ९.३५ प्रतिशतले वृद्धि भएको छ। केन्द्रीय बैंकले बैङ्कहरूको तरलता व्यवस्थापनलाई प्राथमिकता दिँदै आर्थिक गतिविधिलाई प्रवर्द्धन गर्न विभिन्न उपाय अपनाएको देखिन्छ। साना तथा मझौला व्यवसायहरूलाई ऋण पहुँच सहज बनाउन नीतिगत सुधारको प्रयास गरिएको देखिन्छ।

श्रम बजार सुधार गर्न स्वरोजगार तथा उद्यमशीलतालाई प्रवर्द्धन गर्ने योजना उल्लेख छ। विदेशबाट फर्किएका कामदारहरूलाई उत्पादनशील क्षेत्रमा संलग्न गराउने कार्यक्रम अघि बढाइएको छ। निजी क्षेत्रको सहकार्यमा नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको देखिन्छ।

फागुन १३, २०८१ मंगलबार १९:५४:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।