सुमेरु सहकारीमा नाम जोडिएपछि बागमती प्रदेश मन्त्रीका स्वकीय सचिवको ‘आत्महत्या’

काठमाडौं : सुमेरु सहकारीको केस मिलाउने घटनामा नाम जोडिएका बागमती प्रदेश सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्यु भएको छ। प्रहरीका अनुसार साथीको डेरामा अचेत अवस्थामा फेला परेका उनको कलंकीस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। मृत्युको कारण विषादी देखिएको छ।
धादिङ, धुनीबेसी–९ का ३६ वर्षीय थापा अचेत भेटिएको कोठामा एक पेजको पत्रसमेत फेला परेको छ। त्यसमा सहकारीको पैसा लेनदेनको विषयमा आफूलाई जोड्दा आफ्नो बेइज्जत भएको लेखिएको प्रहरीले जानकारी दियो।
थापा गत शुक्रवार मन्त्री श्रेष्ठसँगै काठमाडौँ आएका थिए। आइतबार थापाकी छोरीको जन्मदिन थियो। उनी यतै बसे। आइतबार छोरीको जन्मदिन मनाएर कोठाबाट बाहिरिएपछि उनी परिवारको सम्पर्कमा थिएनन्।
आइतबार सुमेरु सहकारीका विषयमा एक अडियो सार्वजनिक भएको थियो। सुमेरु सहकारीका पूर्व सचिवसमेत रहेका विनोद आचार्यसँग थापाले गरेको कुराकानी दाबी गरिएको सो अडियोमा सहकारीको समस्या मिलाउनेबारे छलफल भएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँले थापाको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।
फागुन १३, २०८१ मंगलबार १७:१२:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।