उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामकमा अलग्याउने विधेयक संसद्मा पेश

उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामकमा अलग्याउने विधेयक संसद्मा पेश

काठमाडौं : नेपालमा हवाई क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय बनाउने गरी तयार गरिएको विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरिएको छ। संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक- २०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक-२०८१ मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेका छन्।

मन्त्री पाण्डेले प्रतिनिधिसभा बैठकमा दुई वटा विधेयक प्रस्तुत गर्दै भने,‘नेपालको नागरिक उड्डयन सेवालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बनाउन र सेवालाई भरपर्दो बनाउन, आधुनिक सुविधायुक्त विमानस्थल बनाउन र हवाई सेवालाई मर्यादित बनाउन नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक-२०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक-२०८१ प्रस्तुत गर्दछु।’

२०८१ पुस ५ शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले दुवै विधेयकलाई संसद्मा पेश गर्ने निर्णय निर्णय गरेको थियो। नेपालमा पछिल्लो डेढ दशकदेखि उड्डयन क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय छुट्टाउने बहस चलिरहेको छ।

यसअघि २०७६ फागुन ११ नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्राएर सेवा प्रदायक र नियामक निकाय बनाउने विधेयक राष्ट्रिय सभामा दर्ता भएको थियो। राष्ट्रिय सभाले उक्त विधेयक २०७८ साउन १८ गते पारित गरेको थियो।

एमाले २०७९ जेठपछि संसद् सञ्चालन गरेपछि सरकारले राष्ट्रिय सभाबाट पारित भएको नेपाल हवाई सेवा प्राधिकरण स्थापना गर्ने विधेयक प्रतिनिधि सभामा टेबल गर्न खोजेको थियो। तर, नेपाल नागरिक उड्डयन प्राधिकरणको ट्रेड युनियनले आन्दोलन गरेपछि प्रतिनिधि सभाबाट विधेयक पारित गर्ने प्रक्रिया अवरुद्ध भएको थियो।

०७९ असोज १ मा प्रतिनिधि सभाको कार्यकाल समाप्त हुँदासम्म विधेयक पारित नहुँदा उड्डयन क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय बनाउने प्रयास रोकिएको थियो। पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले समेत नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक टुक्राउने विधेयक मन्त्रिपरिषद्मा पुर्याएका थिए।

उक्त विधेयक कानुन मन्त्रालयमा रोकिएको थियो। सरकारले पटक–पटक बजेट वक्तव्यमार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पुनः संरचना गरी नियामक र सेवा प्रदायक निकाय अलग–अलग गरिने घोषणा गर्दै आएको छ।

फागुन १३, २०८१ मंगलबार १६:३३:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।