महान्यायाधिवक्ता कार्यालयले डिजिटल अपराध सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्दै

महान्यायाधिवक्ता कार्यालयले डिजिटल अपराध सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्दै

काठमाडौं : महान्यायाधिवक्ताको कार्यालयले दुई दिने डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। मंगलबार कार्यालयले डिजिटल अपराध नियन्त्रण, अनुसन्धान, अभियोजन तथा न्यायिक प्रक्रियामा अन्तर्राष्ट्रिय सहकार्य प्रवर्धन गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेको जानकारी दियो।

सम्मेलन फागुन १५ गतेदेखि १६ गतेसम्म काठमाडौंमा हुने र सम्मेलनमा नेपालसँगै बेलायत, नेदरल्यान्ड्स, मलेसिया, साउदी अरेबिया, सिङ्गापुर, मालदिभ्स, दक्षिण कोरिया, अजरबैजान, भारत, चीन, श्रीलङ्का, नर्वे र रुस लगायत १३ राष्ट्रका ९० बढी सरकारी वकिल, कानून विज्ञ, न्यायाधीश तथा सम्बन्धित निकायका उच्च अधिकारी सहभागिता हुँदैछन्।

नेपालका तर्फबाट सर्वोच्च अदालत, नेपाल राष्ट्र बैंक, विभिन्न मन्त्रालय, सरकारी वकिल, तथा अन्य सम्बन्धित निकायका अन्य अधिकारीहरू सहभागी हुनेछन्।

यस सम्मेलनमा डिजिटल प्रविधिको माध्यमबाट गरिने अपराधहरूको विविध आयामका साथै तिनका अनुसन्धान, अभियोजन, र न्यायिक निरूपणका प्रभावकारी विधिहरूको विषयमा गहन छलफल हुने महान्यायधीवक्ताको कार्यालयले जानकारी दिएको छ।

फागुन १३, २०८१ मंगलबार १५:३७:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।