दिल्ली विधान सभाबाट निकालिए पूर्वमुख्यमन्त्री आतिशीसहित विपक्षी दल सांसद

एजेन्सी : भारतको दिल्लीस्थित विधान सभाले पूर्वमुख्यमन्त्री एवं विपक्षी दल आम आदमी पार्टीकी संसदीय दलकी नेता सहित दलका सांसदहरूलाई निष्कासित गरिएको छ।
दिल्लीका उपराज्यपाल विनय कुमार सक्सेनाको सम्बोधनको क्रममा आम आदमी पार्टीका सांसदहरूले नाराबाजी गरेपछि विधानसभा अध्यक्ष विजेन्द्र गुप्ताले उनीहरूलाई निष्कासन गरेका हुन्।
एलजी सक्सेनाले आफ्नो सम्बोधनमा सरकारको ध्यान भ्रष्टाचारमुक्त शासन, महिला सशक्तिकरण, स्वच्छ दिल्ली, यमुनाको पुनरुत्थान र स्वच्छ पिउने पानीमा केन्द्रित हुने बताएका थिए।
उनले भने, ‘मेरो सरकारले दिल्लीको विकास संकल्प लाई नीतिगत मार्गदर्शनको दस्तावेजको रूपमा अपनाउनेछ र जनतालाई गरिएका सबै वाचाहरू पूरा गर्नेछ।’
निष्कासन गरिएपछि आतिशी लगायत आपका विधायकहरू विधानसभा परिसरमा धर्नामा बसेका छन्। उनले सञ्चारकर्मीहरूसँग आफूहरूले बाबा साहेब अम्बेडकरको नारा लगाउँदा निकालिएको बताइन्।
‘भारतीय जनता पार्टीले दिल्लीमा सरकार बनाउने बित्तिकै उनीहरूले भीमराव अम्बेडकरको तस्वीर हटाए र प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर राखे,’ उनले सोधिन्, ‘के प्रधानमन्त्री मोदी बाबा साहेब भीमराव अम्बेडकरभन्दा ठूला हुन्?’
भारतीय जनता पार्टीले बाबा साहेब भीमराव अम्बेडकरलाई घृणा गर्ने कुरा सभामा पुष्टि भइसकेको भन्दै उनले अम्बेडकरको तस्वीर फिर्ता नभएसम्म विरोध जारी रहने बताइन्।
बाबासाहेब आम्बेडकर भनेर चिनिने भीमराव रामजी आम्बेडकर भारतीय बहुज्ञ, विधिवेत्ता, अर्थशास्त्री, राजनीतिज्ञ र समाजसुधारक थिए।
नवबौद्ध आन्दोलनलाई प्रेरणा दिनका साथै दलित जातिका मानिसलाई गरिने भेदभावको विरोधमा अभियान चलाएका उनी स्वतन्त्र भारतका प्रथम कानुन एवम् न्याय मन्त्री, भारतीय संविधानका जनक एवम् भारत गणराज्यका निर्माता थिए।
सन् १९५६ मा उनी र उनका अनुयायीहरूले बौद्ध धर्मलाई अँगाले जसको केही महिना पछि नै उनको निधन भयो। सन् १९९० मा उनलाई मरणोपरान्त भारतको सर्वोच्च नागरिक सम्मान, भारत रत्नद्वारा सम्मानित गरियो। प्रत्येक वर्ष उनको जन्मदिनलाई भारत लगायत अन्य देशहरूमा आम्बेडकर जयन्तीको रूपमा मनाइन्छ।
फागुन १३, २०८१ मंगलबार १३:१८:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।