विभेदमुक्त वीरेन्द्रनगरको सपना बुनिरहेकी लक्ष्मी

विभेदमुक्त वीरेन्द्रनगरको सपना बुनिरहेकी लक्ष्मी

सुर्खेत : २०४७ सालतिर वीरेन्द्रनगर नगरपालिका-१० की लक्ष्मी विक साविक कल्यान गाउँ विकास समिति-६ (हाल लेकवेसी नगरपालिका-७) सरस्वती माध्यामिक विद्यालयमा कक्षा सातमा पढ्दैथिइन्। त्यतिबेला उनी १५ वर्षकी थिइन्।

विद्यालयमा लक्ष्मी अरु विद्यार्थीभन्दा सक्रिय थिइन्। त्यसैले विद्यालयमा हुने हरेकजसो शैक्षिक र खेलकुदका क्रियाकलापमा शिक्षकहरूले लक्ष्मीलाई सहभागी गराउन प्रेरित गर्थे। उनी पनि उत्साहित हुँदै सहभागी हुन्थिन्।

तर, जब हरेक सरस्वती पूजा हुन्थ्यो, उनी शिक्षकको रोजाइमा पर्थिनन्। उनलाई पूजामा सहभागी गराइँदैनथ्यो। कारण थियो उनको पछाडिको थर- विक। उनी दलित समुदायको भएकाले बसाउन नमिल्ने कुरा उनका साथीहरू सुनाउँथे। शिक्षकहरूले समेत बस्ने परम्परा नभएको भन्थे। उनी मनमनै सोच्थिन्, विभेद कहिले हट्ला? दलित समुदायले कहिले उन्मुक्ति पाउलान्?

विद्यालयमै विभेद भोगेकी उनलाई त्यतिबेलादेखि नै समाजमा भएको जातीय विभेदलाई अन्त्य गर्नुपर्छ भन्ने लाग्यो। त्यसबेला त्यो विषयमा विद्रोह गर्न उनका लागि सहज पनि थिएन। २०४८ सालमा साटाखानी गाविसमा उनको विवाह भयो। ९ र १० लेकवेसीको चौरासेमा पढिन्। लक्ष्मीको विवाहपछि पनि अध्ययनलाई जारी राखिन् र १२ कक्षासम्म अध्ययन गरिन्।

२०६० सालमा उनको परिवार वीरेन्द्रनगर सर्यो। परिवारसँगै सामाजिक काम र राजनीतिमा समेत सक्रिय भइन् उनी। विभिन्न संघ संस्थामा तीन वर्ष सामाजिक परिचालक भएर काम गरिन्। कामसँगै समुदायका मानिसले चिन्दा राजनीतिमा लाग्न पनि सहज भयो। जसकारण ०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट वीरेन्द्रनगर नगरपालिका-१० को वडा सदस्यमा निर्वाचित भइन्।

वडामा पनि उनले दलित समुदायका हक अधिकार र जातीय विभेदविरुद्ध नीति तथा कार्यक्रम ल्याउनुपर्ने अडान लिन्थिन्। पाँच वर्ष वडा सदस्य भएर काम गरिरहँदा उनले २०७९ सालको निर्वाचनमा भने वडाअध्यक्ष हुन चाहिन् तर पार्टीले अर्कैलाई टिकट दियो। पुनः वडा सदस्यमै उठ्न भन्यो। त्यसलाई अस्वीकार गर्दै बाहिरैबाट सामाजिक काममा लाग्ने निधो गरिन्।

पदमा नभए पनि लक्ष्मीले विभेदविरुद्ध समाजमा सचेतना जगाउने अभियानलाई अगाडि बढाइन्। अभियानमा समुदायलाई नै सहभागी गराउन एक्लै सम्भव नभएपछि ०७९ मंसिर १२ गते आफ्नै अध्यक्षतामा ‘समाज रुपान्तरणका लागि महिला अभियान केन्द्र’ नामक संस्था दर्ता गरिन्।

संस्थामा दलित मात्र नभएर सबै समुदायका महिलाहरूलाई सहभागी गराइन् उनले। अध्यक्ष आफैँ रहेकी केन्द्रको उपाध्यक्षमा ठकुरी समुदायकी चन्द्रकला शाही, सचिवमा ब्राह्मण समुदायकी पार्वती पाण्डे, कोषाध्यक्षमा थारु समुदायकी गीता थारु, सदस्यहरूमा कलिसरा हुचिङ मगर, जानकी विक र देविसरा विक छन्।

‘विद्यालयस्तरदेखि विभेद खेप्दै आएँ। मलाई सधैँ लाग्ने कुरा भनेको आफ्नो आँखाको कसिङ्गर आफैँ निकाल्न सकिँदैन, अरुको सहारा चाहिन्छ नै,’ लक्ष्मीले भनिन्, ‘हामी विभेद भयो भनेर एक्लै हल्ला गर्छौँ। तर, विभेदको अन्त्य गर्न विभेद भोग्ने र गर्ने समुदायबीच नै समन्वय र सहकार्य आवश्यक छ। त्यसरी नै अभियान चलाएका छौँ।’

समाज रुपान्तरणका लागि महिला अभियानले विद्यालयहरूमा जातीय विभेद र मानव अधिकार सम्बन्धी सचेतनामूलक कार्यक्रम, दलित समुदाय र गैरदलित समुदायबीच सामुहिक अभिमूखिकरण लगायतका क्रियाकलाप वडा र नगरपालिकासँगको सहकार्यमा गर्दै आएको छ। अध्यक्ष विकका अनुसार वीरेन्द्रनगरका २५ भन्दा बढी विद्यालयमा जातिय विभेद र कानुनी व्यवस्था सम्बन्धी विद्यार्थीहरुलाई सचेतनामूलक कार्यक्रमहरू गरिएका छन्।

‘विद्यालय स्तरमा सचेतना जगाउँदा त्यसको प्रभाव समुदायमा पर्छ। त्यसैले हामीले विद्यालयमा कार्यक्रम गर्यौं,’ उनले भनिन्, ‘दलित समुदाय र गैर दलित समुदायबीच सचेतनामूलक अन्तरक्रिया गरिरहेका छौँ। विभेदका विरुद्ध कानुनी व्यवस्था भए पनि कार्यान्वयनको पाटो फितलो छ।’

पहिले देखिने गरी विभेद हुने गरेको भए पनि आजकाल नदेखिने गरी विभेद भइरहेको उनले बताइन्।

‘पहिले प्रत्यक्ष विभेद हुन्थ्यो। अहिले नदेखिनेगरी विभेदको स्वरूप बढिरहेका छन्। नीति तथा कानुन भए पनि त्यसको कार्यान्वयन छैन,’ उनले भनिन्, ‘दलित समुदाय र महिलामाथि विभिन्न विभेद छन्। अझ प्रभावकारी रूपमा अभियानलाई चलाउनु छ। विभेदमुक्त समाजको परिकल्पना गर्ने मेरो लक्ष्य हो।’

वीरेन्द्रनगरलाई छुवाछुतमुक्त नगरपालिका घोषणा गर्ने उनको योजना छ। लक्ष्मीको घरमा श्रीमानसहित एक छोरा, दुई छोरी, बुहारी र एक नाति छन्। छोराछोरीले अध्ययन गरिरहेका छन् भने उनका श्रीमान् प्राथमिक तहको शिक्षकबाट एक वर्षअघि अवकाश पाएका हुन्। उनी भने घरायसी कामसँगै विभेद विरुद्धको अभियानमा निरन्तर छिन्।

फागुन १३, २०८१ मंगलबार १०:२४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।