३२ वर्षका युवालाई नियामक निकाय बीमा प्राधिकरणको नेतृत्वको जिम्मा , अध्यक्षमा शरद ओझा नियुक्त

काठमाडौं : सरकारले बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरण अध्यक्षमा शरद ओझा नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कञ्चनपुरका ओझालाई अध्यक्षमा नियुक्त गरेको हो ।
सञ्चार, वकालत र कर्पोरेट क्षेत्रमा काम गरेका ओझाले व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक अध्ययन गरेका छन्। व्यावसायिक कानुन, वित्त नीति, मौद्रिक नीति, राजश्व प्रशासन र अर्थतन्त्र विश्लेषणमा दखल राख्ने ओझा प्राधिकरण अध्यक्षमा नियुक्त हुने हालसम्मकै कान्छा हुन्। उनी ३२ वर्षका छन्।
अध्यक्षका लागि गठित सिफारिस समितिले ओझासहित पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष दामोदर बसौलाको नाम पठाएको थियो। प्राधिकरणको अध्यक्षमा सत्ता साझेदार दल नेपाली कांग्रेसले चासो राखेको थियो। ओझाको नियुक्ति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जोडबलमा भएको बताइएको छ।
यसअघिका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध २४ मङ्सिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका थिए । उनी निलम्बन भएपछि प्राधिकरण अध्यक्ष पद रिक्त थियो। बीमा प्राधिकरणले जीवन बीमा, निर्जीवन बीमा र लघु बीमा कम्पनीहरूको नियमन गर्दछ।
फागुन १२, २०८१ सोमबार २२:३७:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।