एनसेलद्वारा 'सधैँ अन रिन्यूअल प्याक' सेवा सुरु

एनसेलद्वारा 'सधैँ अन रिन्यूअल प्याक' सेवा सुरु

काठमाडौँ : एनसेलले ग्राहकहरूलाई निरन्तर कनेक्टिभिटी प्रदान गर्ने उद्देश्यले 'सधैँ अन रिन्यूअल प्याक' सेवा सुरु गरेको छ। यी नयाँ प्याकहरूले ग्राहकहरूलाई महिनाभर बिना कुनै अवरोध बजेट अनुकूल मोबाइल सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ।

रिन्यूअल प्याकहरूको मुख्य विशेषता प्रयोग नभएका डेटा, टक टाइम र एसएमएस अर्को महिनामा क्यारी हुने प्रावधान देखिन्छ।

एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिनले आजको डिजिटल युगमा निरन्तर कनेक्टिभिटी अत्यावश्यक भएको बताए। उनले भने, 'सधैँ अन रिन्यूअल प्याकहरू उच्च गतिको इन्टरनेट र निरन्तर सेवाको बढ्दो मागलाई पूरा गर्न ध्यानपूर्वक डिजाइन गरिएको छ।'

कम्पनीले तीन श्रेणीका रिन्यूअल प्याकहरू उपलब्ध गराएको छ:

१. 'बेस्ट रिन्यूअल प्याक' रु. ३९९, रु. ४९९, र रु. ५९९ मा उपलब्ध, यी प्याकहरूमा भ्वाइस, डेटा, एसएमएस, अनलिमिटेड युट्युब र अनलिमिटेड नाइट डेटा समावेश छन्। प्याक अनुसार, ग्राहकहरूले ८ जीबीदेखि २० जीबीसम्म डेटा, ३९९ देखि ५९९ मिनेटसम्म अल नेपाल टक टाइम, र ३९ देखि ५९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन्।

२. 'अनलिमिटेड रिन्यूअल प्याक' - रु. ७९९, रु. ९९९, र रु. १,४९९ मा उपलब्ध, यी प्याकहरूमा अनलिमिटेड अल नेपाल टक टाइम, अनलिमिटेड युट्युब, अनलिमिटेड नाइट डेटा, साथै प्याक अनुसार ३० जीबीदेखि १०० जीबीसम्म डेटा र ७९ देखि १४९ वटासम्म अल नेपाल एसएमएस समावेश छन्।

३. 'डेटा र भ्वाइस मात्र' प्याकहरू - यसमा रु. १९९ देखि सुरु हुने भ्वाइस प्याकहरू र रु. २९९ देखि सुरु हुने डेटा प्याकहरू समावेश छन्।

कम्पनीका अनुसार सबै प्याकहरूको वैधता ३० दिन (एक महिना) को हुनेछ। कम्पनीले प्याक नवीकरणको समय र मितिबारे ग्राहकहरूलाई पहिले नै सूचित गर्ने र नवीकरण समय आउनु अघि नै ग्राहकहरूलाई नियमित प्याकहरू किन्ने विकल्प पनि प्रदान गर्ने जनाएको छ।

फागुन १२, २०८१ सोमबार २१:०५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।