नो केबलकार समूहलाई वार्तामा आउन सरकारी टोलीको आग्रह

नो केबलकार समूहलाई वार्तामा आउन सरकारी टोलीको आग्रह

काठमाडौं : पाथीभरामा केबलकारको विपक्षमा आन्दोलनरत 'नो केबलकार' समूहलाई वार्तामा आउन सरकारी वार्ता समितिले आग्रह गरेको छ।

गृह मन्त्रालयले गठन गरेको वार्ता समितिले सोमबार विज्ञप्ति निकालेर केबलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने र वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आउन आग्रह गरेको हो।

ताप्लेजुङ जिल्लाको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा धार्मिक, जातीय र पहिचानवादी राजनीतिक दल आन्दोलनमा छन्। केबलकारले स्थानीय धार्मिक पहिचान मेटाउने भन्दै उनीहरूले केबलकार निर्माणको विरोध गरिरहेका छन्।

सरकारले वार्ताबाट समस्या समाधान गर्न समिति गठन गरेको थियो। समिति र आन्दोलनरत पक्षबीच एक चरणको छलफल समेत भएको थियो। कर्मचारीको नेतृत्वमा रहेको समितिसँग छलफल नगर्ने भन्दै आन्दोलनरत पक्ष पुन आन्दोलनमा फर्किएको थियो।

विज्ञप्तिमा समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि सम्बन्धित सरोकारवाला आयोजना निर्माण पक्षसँग समेत समन्वय गरी आन्दोलनरत पक्षसँग वार्ता गर्न गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत वार्ता सहजीकरण समितिबिच २०८१ माघ २२ गते देखी निरन्तर रूपमा वार्ता एवं संवाद भई रहेको उल्लेख छ।

'आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताको माध्यमबाटै उक्त केबलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आउनुहुन हार्दिक अपिल गर्दछु'  सरकारी समितिका संयोजक प्रेम प्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

फागुन १२, २०८१ सोमबार २०:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।