एकीकृत समाजवादी केन्द्रीय कमिटीले सरकारलाई 'नालायक र दमनकारी' भन्दै पारित गर्‍यो २० बुँदे प्रस्ताव

एकीकृत समाजवादी केन्द्रीय कमिटीले सरकारलाई 'नालायक र दमनकारी' भन्दै पारित गर्‍यो २० बुँदे प्रस्ताव

काठमाडौं : एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले सरकारको कार्यशैलीको कडा आलोचना गर्दै २० बुँदे प्रस्ताव पारित गरेको छ।

सोमबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा फागुन ९-१० गते सम्पन्न बैठकका निर्णयहरू सार्वजनिक गरिएको हो।

बैठकले सरकारलाई 'नालायक र दमनकारी' भन्दै आलोचना गरेको छ। संसद्लाई छलेर ल्याइएका अध्यादेशको विरोध गर्दै पार्टीले यस्ता अध्यादेश निर्णयार्थ पेस भएमा विरोधमा मतदान गर्ने जनाएको छ।

बैठकमा राजनीतिक प्रतिवेदन, पार्टीको नियमावली, विनियम र विभिन्न निर्देशिकाहरू पारित गरिएको छ। साथै केन्द्रीय सचिवालयलाई तत्काल कार्ययोजना र अन्य दस्ताबेजहरू सम्पादन गर्ने जिम्मेवारी दिइएको छ।

 प्रस्तावमा भारतमा रहस्यमय मृत्यु भएकी नेपाली छात्रा प्रकृति लम्सालको घटनाको छानबिन, बढ्दो भ्रष्टाचार र सहकारी ठगीविरुद्ध कारबाही, किसानको दूध र उखुको बक्यौता भुक्तानी, भूकम्प पीडितको पुनर्निर्माण लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ।

अन्तर्राष्ट्रिय विषयमा पार्टीले गाजामा इजरायली आक्रमणको विरोध गर्दै स्वतन्त्र फिलिस्तिनी राज्यको पक्षमा आफ्नो धारणा राखेको छ। साथै त्यहाँ बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको तत्काल रिहाइको माग गरेको छ।

बैठकले जातीय छुवाछुत र भेदभावको विरोध गर्दै सर्लाहीको अन्तरजातीय विवाह प्रकरणमा गृहमन्त्री र प्रहरी उच्च अधिकारीको भूमिकाप्रति आपत्ति जनाएको छ।

बैठकमा १७६ जना सदस्यले प्रत्यक्ष छलफलमा भाग लिएका थिए भने अन्यले लिखित सुझाव पेस गरेका थिए।

फागुन १२, २०८१ सोमबार १७:५५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।