शिवरात्रिमा पशुपति क्षेत्रमा गाँजा-भाङ निषेध

शिवरात्रिमा पशुपति क्षेत्रमा गाँजा-भाङ निषेध

काठमाडौँ : महाशिवरात्रिमा शिवबुटी भन्दै गाँजा तान्नेहरूको भिडले भरिन्छ पशुपति क्षेत्र। साधु सन्त त भए नै सर्वसाधारणहरू समेत गाँजा र भाङ खोज्दै पुग्छन् पशुपतिमा।

हरेक वर्ष पशुपति क्षेत्र विकास कोष अनि प्रहरीले पशुपति क्षेत्रमा महाशिवरात्रिमा गाँजा भाङ निषेधको दाबी गर्छन्। तर कार्यान्वयन हुन्न।

यस पटक पनि कोषले यस्तै दाबी गरेको छ। फाल्गुण १४ बुधवार महाशिवरात्रि पर्वमा पाशुपत क्षेत्रमा मासु, मदिरा, गाँजा, भाङ, चरेस आदिको भण्डारण–विक्री वितरण तथा ओसार पसार नगर्न-नगराउन कोषले सचेत गराएको छ।

स्थानीयका लागि स्थानीय वडा कार्यालयहरूमार्फत जारी गरिएको परिचय पत्र (पास) र कोषबाट जारी परिचय पासका आधारमा आफ्नो घर-आवास आवत जावत गर्न पाउने कोषले सोमबार जानकारी दियो।

कोषले शिवरात्रिका लागि कोषका सदस्य सचिव डा. मिलन कुमार थापाको संयोजकत्वमा सुरक्षा व्यवस्था उप–समिति गठन गरेको छ।

कोषाध्यक्ष नारायण प्रसाद सुवेदीको संयोजकत्वमा अनुगमन तथा तथ्याङ्क सङ्कलन व्यवस्था उप–समिति, कोषका सदस्य हरिनाथ ढकालको संयोजकत्वमा स्वयंसेवा परिचालन व्यवस्था उप–समिति गठन भएको कोषले जानकारी दिएको छ।

अन्यमा स्वास्थ्य सेवा व्यवस्था उप–समिति, साधु सन्त तथा धार्मिक कार्यक्रम व्यवस्था उप–समिति,प्रचार–प्रसार तथा साज सजावट व्यवस्था उप–समिति, आवास-भोजन तथा भौतिक पूर्वाधार व्यवस्था उप–समिति, मन्दिर दर्शन, चन्दन वितरण एवं रात्रि कालिन व्यवस्था उप–समिति, वातावरण,सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था उप–समिति गठन गरेको कोषले जानकारी दियो।

फागुन १२, २०८१ सोमबार १७:३८:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।