एमबीएसको परीक्षाको जिम्मेवारीको विवादमा क्याम्पसका कर्मचारीबीच कुटाकुट, चार जना घाइते

एमबीएसको परीक्षाको जिम्मेवारीको विवादमा क्याम्पसका कर्मचारीबीच कुटाकुट, चार जना घाइते

जनकपुर : एमबीएसको परीक्षाको जिम्मेवारी लिने विषयमा विवाद हुँदा जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा कर्मचारीहरूबिच कुटाकुट भएको छ।

एमबीएस शाखाका प्रमुख अभिराम रायले सिट प्लानसहित परीक्षा सम्बन्धी जानकारी दिने उद्देश्यले क्याम्पस प्रमुख वसन्त कर्णसँग भेट्न गएका बेला उनकै अगाडि कर्मचारी कुटाकुटमा उत्रिएका हुन्।

क्याम्पस प्रमुख कर्णले रायलाई परीक्षाको जिम्मेवारीबाट हटाएर अरूलाई जिम्मेवारी दिने तयारी गरेपछि विवाद सुरु भएको थियो।

क्याम्पस प्रमुख वसन्त कर्णकै अगाडि प्रजातान्त्रिक समूहका महेश यादव र माओवादी समर्थित सुरेन्द्र यादवले एक अर्कामाथि मुक्का प्रहार गरे। गालीगलौचमा उत्रिए। अनि कर्मचारीहरू एक आपसमा मुक्कामुक्कीमा उत्रिए।

झडपमा ५५ वर्षीय सुरेन्दप्रसाद यादव, २७ वर्षीय गोविन्द साह, २२ वर्षीय रामपुकार महतो, २४ वर्षीय विकेश अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

कर्मचारीहरूबिच कुटाकुट भइरहँदा क्याम्पस प्रमुख कर्ण भने मोटरसाइकल चढेर क्याम्पसबाट निस्किएका थिए। दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालय धनुषामा बोलाइएको धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए।

फागुन १२, २०८१ सोमबार १७:१८:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।