स्वर्णिमले प्रकृतिको परिवारलाई नै श्रद्धान्जली भनेपछि रामहरिको आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं : नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले प्रकृति लम्सालको परिवारलाई श्रद्धान्जली दिएको विषय रेकर्डबाट हटाउन माग गरेका छन्।
सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयपछि सभामुखसँग समय माग गरेर उनले सभामुख देवराज घिमिरेलाई यसबारे जानकारी गराएका हुन्।
उनले भने, ‘फागुन ६ गतेका दिन संसदमा प्रकृति लम्सालको भारतमा भएको दुर्घटनाप्रति माननीय स्वर्णिम वाग्लेले सपरिवारलाई श्रद्धान्जली भनेर संसदमा रेकर्ड गराउनुभाछ। यो शब्द संसदको रेकर्डबाट हटाइयोस्।’
लगत्तै सभामुख घिमिरेले यसबारे ध्यानाकर्षण भएको भन्दै सचिवालयलाई यसबारे बुझ्न र यदि त्यस्तो भएको छ भने सच्याउन निर्देशन दिए।
गत फागुन ६ गतेको प्रतिनिधि सभा बैठकको विशेष समयमा डा. स्वर्णिम वाग्लेले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्यूट फर इन्ड्रस्टियल टेक्नोलोजीमा अध्ययरत छात्रा प्रकृति लम्सालको परिवारलाई श्रद्धान्जली दिएका थिए।
उनले उक्त दिन सदनमा भनेका थिए, ‘हिजो ओडिसाको कलिङ्गा इन्स्टिच्यूट फर इन्ड्रस्टियल टेक्नोलोजी (केआईआईटी)मा असाध्यै दुःखद् घटना घट्यो। नेपाली विद्यार्थी प्रकृति लम्सालको असामयिक निधन भएको छ। परिवारजनप्रति म र हाम्रो पार्टीको तर्फबाट हार्दिक श्रद्धान्जली पनि व्यक्त गरेका छौँ।’
फागुन १२, २०८१ सोमबार १४:०३:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।