एनजीओ र आईएनजीओबाट आएको रकमको खर्चबारे जानकारी गराउन सांसद् सिंहको माग

काठमाडौं : प्रतिनिधि सभाका स्वतन्त्र सदस्य अमरेशकुमार सिंहले एनजीओ र आईएजीओमार्फत नेपालमा आएका फन्डबारे जानकारी दिन माग गरेका छन्।
सोमबारको प्रतिनिधि सभा बैठकमा उनले एनजीओ र आईएनजीओबाट आएको रकम कति र केमा खर्च भयो भन्नेबारे सदनमा जानकारी दिनुपर्ने बताएका हुन्।
उनले भने, ‘एनजीओ र आईएनजीओबाट आएको रकम कति फन्ड आयो र त्यो के कामका लागि खर्च भयो भन्नेबारे सरकारले सदनलाई जानकारी गराउनुपर्छ। सरकार यसमा मौन रहन मिल्दैन।’
सांसद् सिंहले विदेशबाट आउने फन्डको मोनिटरिङको लागि राष्ट्रिय सदाचार नीति २०७४ ड्राफ्ट भएकोमा त्यसलाई कार्यान्वयन गर्न तत्कालीन प्रधानमन्त्री डराएको समेत उल्लेख गरे।
उनले थपे, ‘राज्य व्यवस्था समितिबाट त्यो नीति ड्राफ्ट भएर प्रधानमन्त्रीको कार्यालयमा पनि गएको हो। तर तत्कालीन प्रधानमन्त्री एनजीओसँग यतिधेरै डराउनुभयो कि, हामी गर्न सक्दैनौ भन्नुभयो।’
अहिले पनि सार्वजनिक लेखा समितिबाट निर्णय गरेर सदाचार नीति सरकारसमक्ष पुगेको भए पनि सरकारले ध्यान नदिएको उनको भनाइ छ।
उनले अगाडि भने, ‘सदनमा स्वेतपत्र जारी होस्, कति पैसा कुन एनजीओबाट आए? कति धर्मान्तरणमा भयो? कति जातजाति लडाउनेमा भयो? कति देश टुक्र्याउनेमा भयो भन्नेबारे जानकारी गराउनुपर्छ।’
फागुन १२, २०८१ सोमबार १३:३३:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।