कोहलीको शतकमा पाकिस्तानमाथि भारतको शानदार जित

एजेन्सी : विराट कोहलीको शतकमा च्याम्पियन्स ट्रफीको पाचौं खेलमा भारतले पाकिस्तानलाई छ विकेटले हराएको छ।
युएईको दुबई क्रिकेट स्टेडियममा भएको खेलमा भारतले पाकिस्तानले दिएको २४२ रनको लक्ष्य ४२.३ ओभरमा पूरा गर्यो।
भारतको जितमा विराट कोहलीले नट आउट रहँदै सर्वाधिक १ सय रन जोडे। उनले १ सय ११ बलको सामना गर्दै ७ चौका प्रहार गरे। ओडिआई करियरको ५१औं शतक विराटले १ सय ११ बलमा पूरा गरे।
कोहलीले तेस्रो विकेटका लागि श्रेयश अय्यरसँग मिलेर १ सय १४ रनको साझेदारी गरे। अय्यरले ६७ बलमा ५ चौका र १ छक्काको सहयोगमा ५६ रन जोडे।
शुभमन गिल ४६ तथा कप्तान रोहित शर्मा २० रनमा आउट भए। पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले २ तथा अबरार अहमद र खुसदिल साहले समान १-१ विकेट लिए।
त्यसअघि युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ सय ४१ रनमा समेटियो।
पाकिस्तानका लागि सउद सकिलले सर्वाधिक ६२ रन जोडे। सकिलले तेस्रो विकेटका लागि कप्तान मोहम्मद रिजवानसँग १ सय ४ रनको साझेदारी गरे। कप्तान रिजवानले ७७ बलमा ३ चौकाको सहयोगमा ४६ रन बनाए।
खुसदिल साह ३९ बलमा ३८ तथा ओपनर बाबर अजाम २३ रनमा आउट भए। अर्का ओपनर इमाम उल हक १० तथा नसिम साह १४ रनमा आउट भए। शाहिन शाह अफ्रिदी रनको खाता नखोल्दै आउट हुँदा हरिस रउफले ८ रन जोडे।
पाकिस्तानले १ सय ५१ रनमा २ विकेट गुमाएकोमा ९० रन जोड्दा बाँकी रहेको ८ विकेट गुमाएको थियो। पछिल्लो ५ ओभरमा पाकिस्तानले ३३ रन जोड्दा ३ विकेट गुमायो।
भारतका लागि कुलदिप यादवले ३, हार्दिक पाण्ड्याले २ तथा हर्षित राना, अक्षर पटेल र रविन्द्र जडेजाले समान १ विकेट लिए।
जितसँगै भारत दुई खेलमा अपराजित रहँदै ४ अंकका साथ समूह ‘ए’ को शीर्ष स्थानमा छ। पाकिस्तान २ खेलमा अंकबिहीन रहँदै समूह ‘ए’ को पुच्छारमा छ।
पहिलो खेलमा न्युजिल्याण्डसँग फराकिलो अन्तरले पराजित भएको पाकिस्तान अर्को हारसँगै प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ। पहिलो खेलमा बंगलादेशलाई हराएको भारत लगातार दोस्रो जितका साथ सेमिफाइनल नजिक पुगेको छ।
दुई वर्षअघि भारतमा आयोजना भएको ओडिआई विश्व कपको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा खेल्दैछन्। सहभागी टोली दुई समूहमा विभाजन गरिएको छ।
फागुन १२, २०८१ सोमबार ०७:२९:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।