नेपाल र म्यानमारले २-२ गोलको बराबरी खेले

नेपाल र म्यानमारले २-२ गोलको बराबरी खेले

काठमाडौं : महिला च्याम्पियनसिपको फाइनलअघिको खेलमा नेपाल र म्यानमारले २-२ गोलको बराबरी खेलेका छन्।

दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरीयताको ५५औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो।

आजको खेलमा स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ र सविता राना मगरले समान एक-एक गोल गरे। सविताको गोलमा पनि साम्बाले नै असिस्ट गरिन्।

खेलको छैठौं मिनेटमा नै घरेलु टिम र दर्शकलाई स्तब्ध बनाउँदै म्यानमारले अग्रता बनायो। सविताले स्वे यी तुनलाई फाउल हानेपछि म्यानमारले फ्रि-किक प्राप्त गर्यो। जहाँ म्याट नोइ खिनले फ्रि-किकमा सिधै गोल गरिन्।

तर ११औं मिनेटमा नेपालले खेललाई १-१ को बराबरीमा पुर्यायो। साम्बा एकल प्रयासमा अगाडि बढाएर दिएको सटिक पासमा सविताले पेनाल्टी बक्सबाट ट्याप इन गर्दै बललाई सही दिशा दिइन्।

सविताको यो तेस्रो अन्तराष्ट्रिय गोल हो। यसअघि उनले वाफ, साफ च्याम्पियनसीपमा एक-एक गोल गरेकी थिइन्।

बराबरी गोल फर्काएर खेललाई रोमाञ्चक बनाएको नेपालले १६औं मिनेटमा दोस्रो गोल बेहोर्यो। डिफेन्सिभ इरर प्रमुख कारण बन्यो। तीन डिफेन्डरलाई जिल्लाउँदै मे टेट लुले गोल गरिन्।

तर, ४१औं मिनेटमा प्रीति राईको उत्कृष्ट पासमा साम्बाले डि बक्स भित्रबाट आकर्षक गोल गरिन्। यो सँगै पहिलो हाफ २-२ को बराबरीमा सकियो।

दोस्रो हाफमा दुवै टोलीले बराबर प्रयास गरे पनि गोल हुन सकेन। नेपाल म्यानमारसँग बराबरीमा रोकिएको यो दोस्रो पटक हो।

यसअघि नेपालले म्यानमारसँग दुई पटक एएफसी वुमन्स ओलम्पिक क्वालिफाईङमा खेलेको थियो। छजहाँ नेपाल एक पटक म्यानमारसँग ३-१ ले हार्दा एक खेल १-१ को बराबरीमा सकिएको थियो।

नेपाल र म्यानमार दुवै अपराजित रहँदै फाइनलमा पुगेका हुन्। यसअघि नेपाल र म्यानमार दुवैले लेबनान र कीर्गिस्तानलाई हराएका थिए। फाइनल खेल बुधबार हुनेछ।

फागुन ११, २०८१ आइतबार २१:२०:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।