सेना निरन्तर नाफामा, सैनिक कल्याणकारी कोषमा ८७ अर्ब बचत

काठमाडौँ : नेपाली सेनाले सैनिक कल्याणकारी कोषको बचत ८७ अर्ब १ करोड रुपैयाँ पुगेको छ। आइतबार जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा युद्ध कार्य निर्देशनालयका निर्देशक सहायक रवीन्द्र खत्रीले यो आँकडा सार्वजनिक गरेका हुन्।
विक्रम संवत् २०३२ मा १ करोड २४ लाख रुपैयाँबाट कोष सुरु भएको थियो। यसमा २०८१ पौष मसान्तसम्ममा ८७ अर्ब १ करोड रुपैयाँ पुगेको उनले जानकारी दिए।
आइतबार सार्वजनिक गरिएको विवरण अनुसार कोषको ७९ अर्ब २८ करोड ५६ लाख रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा छ। उनले निक्षेपको प्रतिशतमा आएको गिरावटले नेपाली सेनाका सेवाग्राही लक्षित कल्याणकारी कार्यहरू तथा सार्वजनिक दायित्वहरू प्रभावित पार्न सक्ने सम्भावना बढ्दै गएको बताए।
उसले विभिन्न परियोजनाहरूमा सात अर्ब ७२ करोड ४४ लाख लगानी गरेकोमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा २ अर्ब ३० करोड ९४ लाख र कल्याणकारी भवन तथा त्रिचन्द्र मिलिटरी हस्पिटलमा १ अर्ब ६० करोड ६० लाख लगानी रहेको उनले जानकारी दिए।
११ वटा मिसनमा ५ हजार ९ सय १३ सेना
उनले विभिन्न मिसनमा शान्ति सेनाका रूपमा खटिएकाहरूको सङ्ख्या समेत सार्वजनिक गरे। उनका अनुसार हाल ११ वटा मिसनमा नेपाली सेना खटिएका छन्। त्यसमा ६ सय ४२ महिला सैनिक सहित ५ हजार ९ सय १३ जना छन्।
संयुक्त राष्ट्रसङ्घको आग्रहमा हालसम्म ४४ वटा विभिन्न मिसनमा एक लाख ५४ हजार ३ सय ४० जना नेपाली शान्ति सैनिकका रूपमा खटिएको र त्यसमध्ये ७३ जनाको मृत्यु भएको तथा ६९ जना सैनिक घाइते भएको उनले जानकारी दिए।
फागुन ११, २०८१ आइतबार १८:०५:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।