योगेश भट्टराईले भने ‘पाथीभरा केबलकारको विरोधीले स्थानीयको घरमा मसाल फ्याले, राजनीति छिर्यो’

काठमाडौं : एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केबलकार निर्माणमा भइरहेको विरोधमा राजनीति छिरेको बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकको बोल्दै उनले धर्म संस्कृतिलाई व्यक्तिको निजी स्वार्थमा प्रयोग गर्दा विवादले ठुलो रूप लिएको बताए।
ताप्लेजुङमा भइरहेको आन्दोलन र जुलुसले स्थानीय नागरिकहरू आतङ्कित बनेको र आन्दोलनकारीले मसाल जुलुस प्रदर्शन गर्दा नागरिकका घरमा आगो फाल्ने काम भएको बताएका थिए।
सुरक्षाकर्मीमाथि साङ्घातिक हमला भएको भन्दै उनले सुरक्षाकर्मीको संयमताले परिस्थिति जटिल नबनेको भन्दै उनले केबलकारमा विकासको विरोधी केही काम नभएको दाबी गरे।
‘धर्म र संस्कृतिको विरोधी कोही पनि छैन। धर्म संस्कृतिलाई व्यक्तिको निजी स्वार्थमा जब हामी प्रयोग गर्न थाल्छौँ, राजनीतिमा धर्म संस्कृति प्रवेश गराउँछौँ, तब विवादको ठुला रूप लिन्छ,’ उनले भने ‘नेपाल बहुभाषिक बहुजाती, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो। यस्तो मुलुकमा यस्तो खालको विवाद उत्पन्न हुनु अत्यन्तै दुखद कुरा हो।’
उनले विरोधको हक सबैलाई भएता पनि ऐन र कानुनले दिएको अधिकारको उपयोग गरेर केबलकार निर्माण थाल्दा कुनै स्वार्थ समूहले राजनीति छिराउन नहुने बताए।
फागुन ११, २०८१ आइतबार १७:०५:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।