प्रहरी प्रधान कार्यालयमा दलित डेस्क’ स्थापना गर्न गृहको निर्देशन

काठमाडौं : दलित समुदायका विषय सम्बोधन गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा ‘दलित डेस्क’ स्थापना गर्न पत्राचार गरेको छ। विभिन्न प्रकारका भेदभाव, उत्पीडन, छुवाछुत लगायतका घटनाहरूको अनुसन्धानमा सहयोग तथा सहजीकरण गर्न मन्त्रालयले छुट्टै डेस्क नै स्थापना गर्न पत्राचार गरेको हो।
यसअघि ७७ जिल्लामा दलित डेस्क स्थापना भइसकेको र तीनलाई थप प्रभावकारी रूपमा सञ्चालन र व्यवस्थापन गर्न समेत निर्देशन दिइएको मन्त्रालयले जानकारी दिएको छ।
‘दलित समुदायका व्यक्तिहरूको समेत सहभागितामा दलित डेस्क स्थापना गरी सामाजिक कुरीतिका रूपमा समाजमा विद्यमान छुवाछुत तथा भेदभाव हटाई कानून कार्यान्वयन तथा सुशासन अभिवृद्धिमा योगदान पुर्याउनु’ गृहको परिपत्रमा भनिएको छ।
केही दिनअघि संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिका पदाधिकारीसितको भेटमा गृहमन्त्री रमेश लेखकले जातीय विभेद र छुवाछुतका विषय हेर्न प्रहरी प्रधान कार्यालयमा दलित डेस्क स्थापना गर्ने बताएका थिए।
फागुन ११, २०८१ आइतबार १६:३३:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।