व्यवसायी पूजाको प्रसव पीडा र खुसी : गर्भावस्थामा श्रीमानले एक्लो हुनै दिनुभएन, बाबु भएपछि खाना देख्यो कि रुन मन लाग्थ्यो

बनेपाकी पूजा महाजु कोभिड महामारी अघिसम्म होटल व्यवसायी मात्र थिइन्। तर, लकडाउनको समयमा होटल बन्द भएपछि अरु विकल्प पनि हेर्न थालिन्। इन्टरनेटले उनलाई दुलहीले लगाउने नामसहितको चुरा बनाउन सिकिन् र त्यसैलाई व्यवसाय बनाइन्।
सुरूमा आफन्तबाट चुरा बनाउने अर्डर पाएकी उनले त्यसलाई व्यावसायिक रूपले नै अघि बढाउने सोचिन्। अहिले उनी चुरासँगै अन्य श्रृंगारका सामग्रीहरू पनि बनाउने गर्छिन्। इन्टरनेटमा चलेको ट्रेन्ड अनुसारले आफैँ सामान बनाएर बेच्छिन्।
वडा कार्यालयको आयोजना गरेको तालिममा समेत उनले स्थानीय महिलाहरूलाई यसबारे तालिम दिएकी छन्। केही समय सहकारीमा समेत काम गरेकी उनले कोरोना सकिएसँगै श्रीमानसँग मिलेर बनेपामा होटलको कामलाई पनि निरन्तरता दिइरहेकी छन्।
व्यवसायी पूजा एक सन्तानकी आमा पनि हुन्। आमा भएपछि उनको दैनिकी फेरिएको छ तर व्यवसाय गर्न छाडेकी छैनन्। उनै पूजाले उकेराको नियमित स्तम्भ ‘प्रसव पीडा र खुसी’मा आफ्नो मातृत्व अनुभव यसरी साटेकी छन्:
०००
मेरो माइती बनेपा हो। घर चैँ पाँचखाल। तर, अहिले बनेपामै बस्छौँ। मेरो बाआमा खेती-किसानी नै गर्नुहुन्थ्यो। तर, कहिले पनि केही कुराका अभाव महसुस हुन दिनुभएन। त्यै भएर बाल्य कालमै फर्किन पाएँ हुन्थ्यो भन्ने लाग्छ।
विवाहपछि त धेरै जिम्मेवारी हुने रहेछ। बानी नहुँदा त सुरू-सुरूमा त आत्तिएँ पनि। एसएलसी सक्किने बित्तिकै काम गर्न थालेँ मैले। एउटा सहकारीमा दश वर्षजति काम गरेपछि विवाह गरेँ। फेसबुकबाट लभ परेर विवाह भयो हाम्रो। परिवारले स्वीकार्दा सबै सहज नै भयो।
बिहेपछि भने आफैँ बाँधिएको जस्तो महसुस गर्न थालेँ। हरेक कुरामा जानकारी दिनुपर्ने, सोध्नुपर्ने हुँदा एक खालको टेन्सन हुने रहेछ। बिहेअघि घरमा हुँदैन भने पनि जान मन लागेको ठाउँमा गएरै छाड्ने बानी हुन्छ नि! बिहेपछि त गोडा पनि आफैँ अडिने रहेछ।
बिहेको अर्को वर्ष नै हाम्रो बाबु भयो। बाबु भएपछि पनि काम गरिनै राखेकी थिएँ। तर काम, घर, अनि बच्चालाई सँगै लैजान धेरै गाह्रो हुने रहेछ। त्यै भएर मैले जागिर चैँ छोडेँ। श्रीमान पहिला विदेशमा हुनुहुन्थ्यो। उहाँ नेपाल आएर होटल खोल्नु भएपछि हाम्रो बिहे भएको हो। त्यै भएर हाम्रो होटल सुरूदेखि नै थियो भन्दा हुन्छ।
त्यति छिटो सन्तान जन्माउने पक्षमा हामी थिएनौँ तर भइ त हाल्यो। गर्भवती भएको थाहा पाउँदा म त झस्केको थिएँ। तर, भइ न सकेपछि हामीले गर्भ राख्ने निर्णय गर्यौँ। त्यसपछिको नौ महिना फेरि एकदम सरल भयो।
वान्ता हुने, कमजोरी हुने जस्तो गाह्रो पनि भएन मलाई। जे पनि खान मन लाग्ने, मीठो लाग्ने। तौल पनि एकदम राम्रो। आमा र बच्चा नै स्वस्थ भयौँ। हाम्रोमा दही-चिउरा खुवाउने चलन हुन्छ। दही-चिउरा खुवाएपछि चैँ बरु मलाई अलि गाह्रो भएको थियो। हिँडडुल गर्नै सकस हुन थाल्यो।
यस्तो बेलामा एउटी महिलाले धेरै मायाको अपेक्षा राखेको हुन्छ। अझ विशेष गरि श्रीमानको। श्रीमान् त सधैँ आफ्नै वरपर रहिरहोस् भन्ने लाग्ने। अनि फेरि मानसिक रूपमा चैँ आफ्नो सन्तान कस्तो हुने होला भनेर चिन्ता हुने रहेछ।
हामीले भिडियो एक्स-रे गर्न जाँदा बच्चा उल्टो छ भन्थ्यो डाक्टरले। कतै अप्रेशन पो गर्नुपर्छ कि भनेर मलाई डर लागेको थियो। तर, श्रीमान् जतिखेर नि मेरो नजिक हुनुहुन्थ्यो। मलाई एक्लै हुनै दिनु भएन। त्यसकारण मलाई धेरै आँट आयो। बाबु जन्मिनुभन्दा अघिल्लो दिनसम्म म काममा गइराखेकै थिएँ।
डेलिभरीको समय नजिकिदै जाँदा शारीरिक रूपमा असहज भएको हो कि जस्तो लाग्थ्यो। बच्चा घरबाट पानी बग्न थालेपछि हामी अस्पताल गयाैँ। त्यहाँ मलाई औषधि दिनुभयो। त्यसपछि अलि सञ्चो भएर मैले घर जाऊँ भनिरहेको थिएँ। तर, त्यो प्रसव व्यथाकै सुरुवाती अवस्था रहेछ। त्यसैले चिकित्सकले भर्ना गर्नुपर्छ भन्नुभयो।
अस्पताल बसाइको क्रममा म एकदमै ‘नर्भस’ भएँ। बच्चा कस्तो हुन्छ होला भन्ने लागिरह्यो। धन्न अप्रेशन चैँ गर्नुपरेन। बाबु जन्मिएपछि पो मलाई झन् गाह्रो हुन थाल्यो। तीन दिनसम्म त हस्पिटल नै बस्नुपर्यो। आफूलाई एकदम गाह्रो भए पनि बाबुलाई देख्ने बित्तिकै रमाइलो लाग्यो।
सबैले ‘बाबु त ठूलो छ’ भन्थ्यो। तर, मैले त मेरो बाबु सानो देखेँ। ‘ओहो! अब त आमा भइयो’ भन्ने लाग्यो। बाबु तीन केजीको थियो। तर, खै किन हो मलाई त निकै सानो लागेको थियो। त्यसपछि मलाई खाना पटक्कै रुचेन। खाना अगाडि आयो कि रुन मन लाग्थ्यो।
स्तनपान पनि गराएँ बाबुलाई। त्यतिबेला माया, ममता र मातृत्त्वको महत्त्व अनुभव गरेँ। दूध पनि मजाले आयो। तर पछि यति धेरै आउन थाल्यो कि बाबुले खानै सकेन। मलाई केही खाना पनि रुचिरहेको थिएन। तर पनि खै दूध एकदम धेरै आइरहेको थियो। दूध बढी भएर गानिएर घाउ नै भएको थियो। अब त्यसको पो अप्रेशन गर्ने कुरा भएको थियो।
तर, घाउ सुकाउने औषधि लगाए अनि बाबुलाई दूध खुवाएको खुवायै गरेँ। पछि आफैँ ठिक भयो। मैले त मेरो बाबुलाई आठ वर्षसम्म दूध खुवाएँ। अहिले बाबु दश वर्षको भैसक्यो। दुई वर्ष अघिसम्म मैले उसलाई आफ्नो दूध खुवाएँ।
मेरो आफ्नै ममी बितिसक्नुभयो। आफू आमा बन्दा मैले ममीलाई एकदम धेरै ‘मिस’ गरेँ। आफैँलाई सन्चो नभएपछि सुत्केरीमा पनि त्यति धेरै रमाउन सकिनँ। सासुममीले धेरै माया गर्नुहुन्थ्यो। आमाजू पनि आउनुभएको थियो। उहाँहरूले धेरै स्याहार्नुभयो। माइतीमा बहिनीहरू थिए। उनीहरूले पनि सहयोग गरे।
म त सुत्केरी जस्तो पनि देखेकी थिइनँ। तौल निकै घटेको थियो। बच्चा जन्माउन भन्दा हुर्काउन गाह्रो हुन्छ भन्ने सुन्थेँ, हो रहेछ। डाइपर लगाउँदा बाबुलाई पूरै पास्ने हुन्थ्यो। श्रीमान् र म सुरूमा त निकै अल्मलियौँ। के गर्ने, कसो गर्ने दोधार हुन्थ्यो। त्यसले गर्दा काम पनि रोकिरहने भयो। त्यही दु:ख सम्झेर अर्को सन्तानको बारे सोच्दा पनि सोचेनौँ।
घरमा अनि भेट्ने जति सबैले दुईटा त चाहिन्छ भन्नुहुन्थ्यो। तर, अहिले जन्माउने, हुर्काउने भन्दा पनि पढाउन गाह्रो छ। धेरै हुनुभन्दा एउटालाई राम्रो गर्नुपर्छ जस्तो लाग्छ। हाम्रो बाबु पनि एकदम बुझ्ने छ अहिलेदेखि नै।
भर्खर दश वर्षको भयो तर ठूलो भइसकेको जस्तो एकदम परिपक्व कुरा गर्छ। बेला-बेला समय दिएन भनेर गुनासो पनि गर्छ। आमा हुनु भनेको धेरै संघर्ष, जिम्मेवार अनि रमाइलोपन पनि रहेछ। आफ्नो भन्दा बढी बच्चाको माया लाग्ने रहेछ। जति नै ‘स्ट्रेस’ भए पनि बाबुले ‘ममी’ भनेर अङ्गालो मार्दा सब ठीक भएको जस्तो लाग्ने।
बाबु हामीसँग एकदम नजिक छ। उसले अहिलेसम्म त्यति ठूलो माग केही गरेको छैन। उसको पढाइ पूरा गर्दिन सक्नु नै हाम्रो उपलब्धि हुनेछ। बेला-बेला समय व्यवस्थापनमा असाध्यै गाह्रो हुने गर्छ। तर, सबैलाई मिलाएर अघि बढ्नु त पर्छ नै! अब आफ्नो बिजनेस र परिवारलाई अगाडि बढाउनु नै मेरो प्राथमिकता हुनेछ।
फागुन ११, २०८१ आइतबार १३:०८:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।