झडपपछि ताप्लेजुङमा दुई स्थानमा चार किल्ला तोकेर निषेधाज्ञा

झडपपछि ताप्लेजुङमा दुई स्थानमा चार किल्ला तोकेर निषेधाज्ञा

ताप्लेजुङ : ‘नो केबलकार’ पक्षधर र प्रहरीबीच शनिबार साँझ जिल्लाको फुङलिङमा झडप भएपछि जिल्ला प्रशासन कार्यालयले त्यहाँ निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आइतबार बिहान ५ बजेदेखि लागू हुने गरी फुङलिङ बजार र काफ्लेपाटी-बल्लुडाँडा क्षेत्रमा निषेध आदेश जारी गरेका हुन्।

शर्माका अनुसार अर्को आदेश नभएसम्म ती क्षेत्रमा ५ जनाभन्दा बढी भेला भई सभा, जुलुस, प्रदर्शनजस्ता कार्यक्रम गर्न पाइने छैन।

शनिबार आन्दोलनरत पक्षले साँझ राँके जुलुस गर्ने क्रममा वीरेन्द्र चोकमा प्रहरीसँग झडप भएको थियो। झडपमा आठ प्रहरी र केही ‘नो केवलकार’ पक्षधर घाइते भएका छन्।

रातिसम्म प्रदर्शन भइरहेको र पक्राउका विषयमा यकिन भई नसकेको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए। घाइतेको जिल्ला अस्पताल र तमोर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

पदयात्राका लागि यही फागुन ६ देखि पाथीभरा मुक्कुमलुङ क्षेत्रमा केन्द्रित भएका नो केबलकार पक्षधर शनिबार दिउँसो काफ्लेपाटीबाट सदरमुकाम फुङलिङ आएका थिए। त्यही क्रममा राँके जुलुस पनि निकालेका थिए। त्यसपछि प्रहरी र आन्दोलनरत पक्षबीच झडप भएको थियो।

काफ्लेपाटीबाट राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोसहितको टोली फर्किएको थियो। महतोलाई केबलकार पक्षधरले सदरमुकाम फुङलिङको बुद्धचोक छेउमा कालो झन्डा देखाएका थिए।

महतोलाई सुरक्षाकर्मीको टोलीले सदरमुकाम ल्याएको थियो। फागुन ७ मा ताप्लेजुङ आएका महतो भोलिपल्ट नो केबलकार पक्षधरद्वारा आयोजित पदयात्रामा सहभागी हुन काफ्लेपाटी पुगेका थिए।

आन्दोलनरत पक्ष र प्रहरीबीच केबलकार निर्माणस्थलमा गत बिहीबार पनि दिनभरजसो झडप भएको थियो। आन्दोलनरत पक्षसँगको छलफलपछि सुरक्षा अधिकारीले केबलकार निर्माणस्थलमा प्रयोग गरिने एक्स्काभेटर काफ्लेपाटीमा ल्याएको छ। काफ्लेपाटीबाट केबलकार सबस्टेसन ८ सय मिटर दूरीमा छ।

फागुन ११, २०८१ आइतबार ०७:१७:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।