पाथीभरा केबलकार विरोधको नेतृत्व गरेका महतोलाई दिउस कालो झन्डा, बेलुका राँके जुलुसमा झडप

ताप्लेजुङ : नो केबलकार समूहलाई सघाउन ताप्लेजुङ पुगेका राष्ट्रिय मुक्ति पार्टी (नेपाल) का अध्यक्ष राजेन्द्र महतोलाई केही ताप्लेजुङवासीले कालो झन्डा देखाएर विरोध गरे।
'नो केबलकार समूह' को पदयात्रामा सहभागी भएर फर्कँदै गर्दा सदरमुकाममा स्थानीयले उनको विरोध गरेका थिए। तीर्थस्थलमा जिल्ला तथा समाज भाँड्ने खालका अभिव्यक्ति दिएका कारण महतोलाई कालो झन्डा देखाइएको थियो।
बेलुका राँके जुलुस निकाल्दा स्थानीय आन्दोलनकारी र सुरक्षाकर्मीबिच झडप भयो। झडपमा धरान बस्ने एके दर्नाल र लेलेप बस्ने केसिङ कुमार लिम्बू गम्भीर घाइते भए। उनीहरूलाई उपचारका लागि ताप्लेजुङको तमर अस्पतालमा भर्ना गरिएको छ। राँके जुलुसमा उत्रिएका आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेपछि झडप भएको थियो।
केबलकारको पक्ष र विपक्षमा विवाद बढ्दै गएपछि पछिल्लो समय ताप्लेजुङमा स्थानीय भन्दा पनि कोशी र मधेस प्रदेशमा पहिचानको राजनीतिमा सक्रिय राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू सक्रिय देखिएका छन्। यसले विवाद समाधानतिर भन्दा पनि थप पेचिलो बन्दै गएको छ।
केन्द्रमा सहमतिका लागि सरकारले वार्ता समिति गठन गरेर एक चरणमा छलफल समेत गरेको थियो। तर कर्मचारीको नेतृत्वमा नभई मन्त्रीको नेतृत्वमा समिति गठनको माग राखेर केबलकारको विपक्षमा रहेको समूह वार्तामा आएको छैन।
फागुन १०, २०८१ शनिबार २१:५२:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।