आन्तरिक व्यवस्थापन हुन नसक्दा पार्टी कमजोर देखिएको प्रकाशमानको दाबी

महेन्द्रनगर : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र आन्तरिक व्यवस्थापन हुन नसक्दा पार्टी कमजोर देखिएको बताए। उनले कांग्रेस बलियो भएर पनि कमजोरजस्तो देखिएको भन्दै पार्टीभित्रका समस्या समाधान गर्नुपर्ने बताए।
‘पार्टीलाई व्यवस्थित गर्ने, सबैलाई स्थान दिनेगरी सङ्गठनलाई अघि बढाउन आवश्यक छ’, उनले भने ‘पार्टीलाई केन्द्रमा राखेर सोचे पार्टीभित्र बृहत्तर एकता कायम हुन्छ।’
कांग्रेस धनुषाले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले आफ्ना गुट, उपगुटलाई केन्द्रमा राख्ने स्वार्थी प्रवृत्तिले समस्या गर्ने गरेको भन्दै मनमुटाब समयमै व्यवस्थापन गरी सबै एकताबद्ध भएर अघि बढ्न आव्हान गरेका थिए।
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री समेत रहेका सिंहले कांग्रेसकै नेतृत्वमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी भएको भन्दै यसलाई सुदृढ र संस्थागत गर्नुपर्ने बताए।
आम नागरिकलाई अधिकार सम्पन्न बनाउने जनचाहनाअनुसार नै राजनीतिक स्थिरताको जगमा विकास र समृद्धिका लागि सरकारले काम गरिरहेको उनको दाबी थियो। उनले पार्टी महाधिवेशनको प्रसङ्गमा विधान र संविधान अनुसारै समयमै हुने बताए।
फागुन १०, २०८१ शनिबार १९:३६:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।