भारत र चीनसँग उच्च व्यापार घाटा, अफगानिस्तानसँगको व्यापारमा नाफा

भारत र चीनसँग उच्च व्यापार घाटा, अफगानिस्तानसँगको व्यापारमा नाफा

काठमाडौँ : चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा कुल ११ खर्ब १५ अर्ब ७९ करोडको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब ३८ करोड घाटा भएको छ। भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको वैदेशिक व्यापारको अवस्था प्रतिवेदनअनुसार यो अवधिमा नौ खर्ब ८८ अर्ब ५८ करोडको आयात भएकोमा एक खर्ब २७ अर्ब २० करोडको मात्र निर्यात भयो।

विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात १० दशमलव ०९, निर्यात ४६ दशमलव ५० र कूल वैदेशिक व्यापार १३ दशमलव ३० प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कुल वैदेशिक व्यापार घाटा छ दशमलव २० प्रतिशतले बढेको छ। कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ८८ दशमलव ६० र निर्यातको हिस्सा ११ दशमलव ४० प्रतिशत रहेको छ।

सबैभन्दा ठुलो व्यापार साझेदार भारतसँग मात्र नेपालले यो अवधिमा चार खर्ब ९८ अर्ब ३४ करोड व्यापार घाटा व्यहोरेको विभागको तथ्याङ्कबाट देखिन्छ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा भारतबाट पाँच खर्ब ९६ अर्ब ३५ करोडको वस्तु आयात हुँदा ९८ अर्ब ७५ करोड रुपैयाँ बराबरको मात्र निर्यात भएको छ।

चीनसँगको व्यापार घाटा एक खर्ब ९० अर्ब ४४ करोड रुपैयाँ बराबर छ। पछिल्लो सात महिना अवधिमा चीनबाट एक खर्ब ९२ अर्ब ४५ करोडको वस्तु आयात हुँदा दुई अर्बको मात्रै निर्यात भयो।

अर्जेन्टिना, युक्रेन, संयुक्त अरब ईमिरेट्स, अस्ट्रेलियालगायत मुलुकसँगको व्यापार घाटा समेत उच्च छ।

नेपालले ३५ वटा मुलुकसँगको वैदेशिक व्यापारमा मात्र नाफा गरिरहेको छ। चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा सबैभन्दा धेरै व्यापार नाफा अफगानिस्तानसँग छ। अफगानिस्तानसँग सात महिनामा एक करोड २४ लाखको आयात र ५९ करोड ४५ लाखको निर्यात भएको छ।

डेनमार्क, रसियन फेडेरेसन, अस्ट्रिया, नर्वे, मालदिभ्सलगायत देशहरूसँग व्यापार नाफा बढी रहेको छ।

विभागको तथ्याङ्कअनुसार माघ मसान्तसम्म सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ। यो अवधिमा २९ अर्ब ४५ करोड १६ लाखको डिजेल, २४ अर्ब ५८ करोड ३२ लाखको पेट्रोल र छ अर्ब ६१ करोड ६५ लाखको एलपि ग्यास आयात भएको छ।

पाँच अर्ब ५० करोड ९० लाख बराबरको विद्युतीय सवारीसाधन र पाँच अर्ब ४३ करोड ४१ लाखको अन्य सवारीसाधन आयात भएको छ। सात महिनामा तीन अर्ब ५३ करोड ९७ लाख बराबरको स्मार्टफोन आयात भएको विभागले जनाएको छ।

नेपालले बढी निर्यात गरेका वस्तुहरूमा भटमास तेल पहिलो स्थानमा छ। माघ मसान्तसम्ममा ३२ अर्ब ४१ करोड ५७ लाख बराबरको सोयाबिन तेल निर्यात भएको छ।

त्यस्तै, छ अर्ब ५७ करोड ६७ लाखको सूर्यमुखी तेल, पाँच अर्ब ३८ करोड ८० लाखको अलैँची, तीन अर्ब ८९ करोड ५२ लाखको कार्पेट, तीन अर्ब १० करोडको धागो र तीन अर्ब बराबरको चिया निर्यात भएको छ।

फागुन १०, २०८१ शनिबार १६:४१:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।