कांग्रेसका समूह : जोखना हेर्दै संस्थापन, तितरबितर संस्थापन इतर, च्याँखे समूह अस्तित्वहीन

काठमाडौँ : १५ औँ महाधिवेशन लक्षित गरेर पार्टी सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूसँग छलफल गरेपछि संस्थापन इतर समूहको नेतृत्व गरिरहेका शेखर कोइरालाले पनि आफ्नो समूहका नेताहरूसँग छलफल सुरु गरेका छन्। संस्थापन समूहका शशाङ्क कोइराला, विमलेन्द्र निधी, पूर्णबहादुर खड्का, डा प्रकाशशरण महत, कृष्ण सिटौलासहितका नेताहरूसँग देउवाले आफ्नै निवासमा छलफल गरेका थिए।
आगामी महाधिवेशन र समूहको नेताबारे देउवा समूह छलफलमा जुटेपछि शनिवार शेखर कोइरालाले पनि आफ्नो समूहका नेताहरूलाई बिशालनगरस्थित आफ्नो *सम्पर्क कार्यालयमा बोलाएर छलफल गरेका छन्। छलफलमा १४ औँ महाधिवेशनमा उनको समूहमा रहेका गगन थापा भने छैनन्।
१४ औँ महाधिवेशनमा प्रकाशमान सिंह अनि कृष्ण सिटौलाको समूहबाट प्रतिस्पर्धा गरेका विश्वप्रकाश शर्मा अनि प्रदीप पौडेल शनिबारको भेलामा छैनन्। संस्थापन इतर समूहको तर्फबाट पार्टीको संसदीय दलको नेतामा सभापति देउवासँग प्रतिस्पर्धा गर्दा शर्मा र पौडेल दुवैले गगनलाई साथ दिएका थिए। *उनीहरु शेखरको भेलामा भने सहभागी हुने गरेका छैनन्।
शेखरको बैठकमा डा.कोइराला, डा.मीनेन्द्र रिजाल, रामनाथ अधिकारी, सह-महामन्त्री जीवन परियार, सरिता प्रसाँई, सञ्जय गौतम लगायतका नेताहरू सहभागी देखिन्छन्। १४ औँ महाधिवेशनमा मिलेर प्रतिस्पर्धा गरे पनि १५ औँ महाधिवेशनका लागि शेखर र गगन दुवैले सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।
जोखना हेर्दै संस्थापन
१५ औँ महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्न देउवालाई पार्टी विधानले नै स्वीकृति नदिने भएपछि अहिले संस्थापन समूहभित्र समेत सभापतिको उम्मेदवारको खोजी सुरु भइसकेको छ। नेताहरूले आ-आफ्नै शैलीमा आन्तरिक तयारी गरे पनि देउवाले कसैलाई पनि उत्तराधिकारी नतोक्दा खुल्न भने सकेका छैनन्।
देउवा समूहमा पार्टी सभापतिको पहिलो चरणको निर्वाचनमा प्रतिस्पर्धा गरेका कृष्ण सिटौलादेखि विमलेन्द्र निधिसम्म छन्। यी दुवै १५ औँ महाधिवेशनमा देउवाको उत्तराधिकारीको रूपमा पार्टीको नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने तयारीमा देखिन्छन्। १४ औँ महाधिवेशनको दोस्रो चरणको निर्वाचनमा देउवालाई साथ दिएका प्रकाशमान सिंह भने अहिले कतै खुलेका छैनन्।
देउवा समूहमा निरन्तर रहेका उपसभापति पूर्णबहादुर खड्का पनि देउवाको उत्तराधिकारीको रूपमा पार्टीको १५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न इच्छुक देखिएका छन्। १४ औँ महाधिवेशनमा कुनै समूहका उम्मेदवारको पक्षमा नखुलेका डा शशाङ्क कोइराला यस अगाडि बूढानीलकण्ठमा भएको छलफलमा सहभागी भएर भावी सभापतिको उम्मेदवारको सूचीमा चढेका छन्।
आफू पार्टी सभापतिबाट हट्दै गर्दा श्रीमती आरजु राणालाई पार्टी नेतृत्वमा स्थापित गर्ने देउवाको चाह लुकेको छैन। जसले उनको रणनीतिलाई साथ दिन्छ उसैले उत्तराधिकारी पाउने सम्भावना लुकेको विषय हैन। आरजुका हकमा महामन्त्री या उप-सभापति पद सुरक्षित गर्ने देउवाको रणनीति देखिन्छ। तर उनले मुख खोलिसकेका छैनन्। समूहका नेतामा छटपटी बढे पनि उनी मौन बसेरै आन्तरिक अंक गणित मिलाइरहेको देखिन्छ।
तितरबितर संस्थापन इतर
यता संस्थापन इतर समूह भने नेतृत्वको सवालमा छिन्नभिन्न देखिन्छन्। एक पटकका लागि पार्टीको नेतृत्वको प्रयास गर्ने भनेर १४ औँ महाधिवेशनमा संस्थापन इतर समूहबाट सर्वसम्मत रूपमा सभापतिको उम्मेदवार बनेका शेखरले बचन तोड्दै पुन १५ औँ महाधिवेशनमा पनि सभापतिका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन्।
शेखरले १४ औँ महाधिवेशनमा संस्थापन इतर समूहलाई नै एकीकृत गर्न सकेका थिएनन्। संस्थापन इतरबाटै सभापतिमा प्रकाशमान उम्मेदवार बनेका थिए। कोइराला परिवारको सदस्यले समेत उनलाई साथ दिएनन्। शशाङ्क मौन बसे भने सुजता प्रकाशमान समूहबाट उपसभापतिको उम्मेदवार बन्न गइन्। रामचन्द्र पौडेल आफैँ देउवाविरुद्ध प्रतिस्पर्धा गर्न चाहन्थे। सबैले शेखरलाई अगाडि सारेपछि रिसाएका उनी महाधिवेशन अवधिभर मौन रहे।
पहिलो चरणमा कुनै उम्मेदवारको पक्षमा आवश्यक मत प्रतिशत नपुगेपछि निर्वाचन दोस्रो चरणमा प्रवेश गर्यो। दोस्रो चरणको निर्वाचनमा शेखरले प्रकाशमान र विमलेन्द्र निधिको साथ पाउन सकेनन्। दुवैले देउवालाई साथ दिए। अन्तमा देउवा नै पार्टी सभापतिमा निर्वाचित भए।
१५ औँ महाधिवेशनका लागि त शेखर झन् कमजोर देखिन्छन्। १४ मा साथ दिएका नेताहरू नै उनीसँग देखिन्नन्। जति नेताहरू छन् तीनको बलियो प्रभाव देखिन्न पार्टी सङ्गठनमा। १४ औँमा देउवा समूहमा रहेका बालकृष्ण खाँण अनि मोहनबहादुर बस्नेतले १५ औँ महाधिवेशनमा क्याम्प बदल्ने सम्भावना देखिन्छ। यीनले देउवा समूहमा स्थान नपाए शेखर समूहमा आउन सक्छन्।
गगन समूह अलमलमै
दुवै नेताको तयारी हेर्दा १५ औँ महाधिवेशनमा शेखरले गगनलाई पार्टी सभापतिमा समर्थन गर्ने सम्भावना देखिन्न। गगनले पनि शेखरलाई समर्थन गर्ने सम्भावना देखिन्न। तर दुवै समूहबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने सम्भावित नेताहरूको सूची पनि देखिन्न। दुवै नेताहरूले प्रतिस्पर्धा गरेको अवस्थामा संस्थापन इतर समूहका कुन नेता कता लाग्ने हुन् प्रस्ट छैन।
संस्थापन समूहबाट बन्ने समूहबाट असन्तुष्ट हुनसक्ने नेताहरूले समूह बदलेमा को शेखरतिर जालान् अनि को गगनतिर आउलान् त्यो पनि प्रस्ट छैन। गगन समूहको तयारी हेर्दा गगन आफैँ पार्टी सभापतिको उम्मेदवार बन्ने पक्कापक्की नै देखिन्छ। उपसभापतिमा विश्वप्रकाश शर्मा र महामन्त्रीमा प्रदीप पौडेलको सम्भावना देखिन्छ। अन्य पदमा को-को उम्मेदवार बन्न सक्छन् एकिन देखिन्न।
महामन्त्रीको रूपमा विश्वप्रकाश सक्रिय नै रहेकाले उनको साथले गगनलाई सभापतिमा प्रतिस्पर्धा गर्न सहज हुनसक्छ। तर शर्माको एकल प्रभाव रहेको क्षेत्रीय वा आन्तरिक उप-समूह भने देखिँदैन। गगन-विश्वप्रकाश एकै ठाउँमा हुँदा पार्टी महाधिवेशन प्रतिनिधिहरुमाझ सकारात्मक सन्देश भने जानेछ। १४ औँ महाधिवेशनमा पनि एक भोट गगन, एक भोट विश्व भनेरै दुवैले जितेका हुन्।
१४ औँ महाधिवेशनमा कृष्ण सिटौलाको समूहको प्रतिनिधित्व गर्दै महामन्त्रीको उम्मेदवार बनेर पराजित भएका प्रदीप पौडेल स्वास्थ्य मन्त्रीको रूपमा निकै बदनाम भइरहेका छन्। उनलाई गगन समूहले महामन्त्रीको उम्मेदवार बनाउँदा उनले कमाएको बदनामीको प्रभाव गगन समूहमा पर्छ नै । प्रदीप पौडेलको सचिवालयमा गगन स्वास्थ्यमन्त्री हुँदाको सरकारी स्वकियदेखि सल्लाहकारसम्म अटाएका छन्। यसले पनि प्रदीपको बदनामीबाट गगन समूह टाढै बस्न सम्भव देखिन्न।
च्याँखे समूह अस्तित्वहीन
पार्टीको १३ औँ महाधिवेशनमा गगनको साथ लिएर पार्टी सभापतिमा प्रतिस्पर्धा गरेका सिटौला १४ औँ महाधिवेशनमा देउवा समूहमा विलय भएकाले अलग्गै समूहको प्रभाव र अस्तित्व देखिन्न। उनको समूहका अधिकांश अहिले गगन समूहतिर विलय भइसकेको देखिन्छ।
प्रकाशमान र विमलेन्द्रले अलग्गै समूह निर्माण गरेर १५ औँ महाधिवेशनमा पार्टी नेतृत्वका लागि चुनौती दिने सम्भावना देखिन्न। त्यसमा पनि प्रकाशमान समूहमा रहेकी सुजता अहिले पुन कोइराला परिवार एक हुनुपर्ने भन्दै सक्रिय भएकी छिन्। विश्वप्रकाश शर्मा गगन समूहमा सक्रिय देखिन्छन्।
वीपी कोइरालाको विरासतको नाममा शशाङ्क अहिले शेखरभन्दा देउवा समूहतिर सक्रिय छन्। केही दिन अगाडि देउवा निवासमा भएको भेलामा उनको सहभागिताले पनि उनी शेखरभन्दा देउवा समूहमै रहेर पार्टी सभापतिको उम्मेदवार बन्ने कसरतमा लाग्ने प्रस्टै देखियो।
पार्टीभित्र रामचन्द्र पौडेलको कुनै न कुनै रूपमा प्रभाव थियो नै। उनी राष्ट्रपति भएपछि आन्तरिक रूपमा आफू निकट नेताहरूलाई कसको पक्षमा लाग्ने सुझाव दिन सक्छन्। तर १४ औँ महाधिवेशनमा जस्तो घुर्कीको राजनीति खेलेर देउवालाई सहयोग पुर्याउने भूमिकामा छैनन् उनी।
*कोइरालाको निवासमा बैठक बसेको र शर्मा र पौडेल शेखरको भेलामा सहभागी हुने गरेको प्रशंग गलत भएकाले सच्याइएको छ।
फागुन १०, २०८१ शनिबार १५:२२:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।