पूर्वराजाले जनतालाई साथ दिन आह्वान गरेपछि प्रचण्डको टिप्पणी- ‘रछ्यानमा मिल्काइएका तत्वहरू दिवास्वप्नमा छन्’

पूर्वराजाले जनतालाई साथ दिन आह्वान गरेपछि प्रचण्डको टिप्पणी- ‘रछ्यानमा मिल्काइएका तत्वहरू दिवास्वप्नमा छन्’

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति टिप्पणी गर्दै रछ्यानमा मिल्काइएका तत्वहरू दिवास्वप्नमा भएको बताएका छन्।

शनिबार काठमाडौंमा भएको पार्टीको एक कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले इतिहासको रछ्यानमा मिल्काइएका तत्वहरू पनि फेरि एकपटक पुनरागमन हुने हो कि भन्ने दिवास्वप्नमा भएको बताएका हुन्।

‘जनतामा सरकारप्रति दिनप्रतिदिन आक्रोशहरु बढ्दै गएको छ। सरकारप्रतिको यो आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिहरुले आ–आफ्नो हिसाबले प्रयोग गर्ने कोसिस पनि गरिरहेकै छन्,’ उनले भने, ‘इतिहासको एउटा रछ्यानमा मिल्काइएका तत्वहरू पनि फेरि एकपटक पुनरागमन हुने हो कि भन्ने दिवास्वप्नमा छन्।’

प्रचण्डको यो भनाइ पूर्वराजा ज्ञानेन्द्रले आफ्नो त्यागलाई कमजोरी नठान्न आग्रह गर्दै जनतालाई साथ दिन आह्वान गरेपछि आएको हो।

प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले भनेका थिए, ‘अब समय आयो। राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्छौँ।’

भ्रष्टाचारमा दलदलमा फसाउँदै आएका पुँजीबादी र दलालीहरूका कारण माओवादी केन्द्र सरकारबाट बाहिरिनुपरेको उनले दोहोर्याए।

फरक प्रसङ्गमा प्रचण्डले माओवादी केन्द्रले नेतृत्व गरेका सबै पालिका नमुना बन्नुपर्ने बताउँदै स्थानीय तहबाट समाजवादी अर्थतन्त्र, संस्कृति र शैलीको थालनी गर्न आवश्यक रहेको बताए।

समाजवादको सैद्धान्तिक बहसलाई व्यावहारिक रूपमा स्थानीय तहबाट निर्माण गर्दै लैजाने पार्टीले निर्णय गरेकोबारेमा समेत उनले जानकारी गराए।

पार्टीले आठौं महाधिवेशनबाट अघि सारेको नेपाली विशेषताको समाजवाद निर्माण गर्ने मर्ममा साथ माओवादी केन्द्रले नेतृत्व गरेका कयौं स्थानीय पालिकाले उत्कृष्ट नतिजा दिँदै आएको उनको भनाइ थियो।

फागुन १०, २०८१ शनिबार १४:४८:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।